पुरुष नै मिच्छन् लेन ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पुरुष नै मिच्छन् लेन !


८ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । काठमाडौं उपत्यकामा पुरुषले नै लेन मिच्ने गरेको पाइएको छ । उपत्यकामा पछिल्ला चार वर्षमा (चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म) झण्डै ९५ प्रतिशत पुरुषले लेन नियम मिचेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार सो अवधिमा झण्डै दुई लाख ५५ हजार ९ सय २२ जनाले लेन मिचेका छन् । तीमध्ये दुई लाख ४३ हजार सात सय ४६ पुरुष छन्, जुन ९५ दशमलव २४ प्रतिशत हो ।

लेन नियम मिच्नेमा महिला न्यून छन् । महाशाखाका अनुसार पछिल्लो चार वर्षमा लेन नियम मिच्ने महिलाको संख्या १२ हजार एक सय ७६ छ ।

‘पछिल्ला चार वर्षको तथ्यांक केलाउने हो भने उपत्यकामा लेन मिच्नेमा बढी पुरुष नै देखिएका छन्,’ ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसएसपी ) उमेश रञ्जितकारले भन्छन् । कतिपय स्थानमा लेन अभावका कारण कारवाही गर्न नसकिएको उनले बताए ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७१/७२ मा लेन उल्लंघन गर्नेको संख्या ३७ हजार पाँच सय चार छ । आर्थिक वर्ष ०७२/७३ मा ४८ हजार ७१ जना कारवाहीमा परेका छन् । यस्तै आर्थिक वर्ष ०७३/०७४ मा एक लाख ३१ हजार पाँच सय ३३ जना कारवाहीमा परेको र ०७४/०७५ को वैशाख मसान्तसम्ममा ३८ हजार आठ सय १४ जना कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कारवाहीमा परेका सवारी साधनबाट २५ लाख एक सय २८ रूपैयाँ राजस्व संकलन भएको उनले बताए । महाशाखाका अनुसार काठमाडौंको सिंहदरबार, दरबारमार्ग, माइतीघर, थापाथली, भद्रकाली, पुतलीसडकलगायत स्थानमा बढी लेन नियम मिचिन्छ ।

प्रतिक्रिया दिनुहोस