विकास निर्माणमा न्यून खर्च गर्ने परिपाटी ‘ब्रेक’ गरेका छौं « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विकास निर्माणमा न्यून खर्च गर्ने परिपाटी ‘ब्रेक’ गरेका छौं


प्रशासन विशेष ब्युरो

८ जेष्ठ २०७५, मंगलबार


जनतासँग गरेका प्रतिवद्धता के–के पूरा गर्नुभयो ?
जनताका दैनन्दिन हुने कामहरूलाई सहज र छिटोछरितो ढंगले सम्पादन हुने गरी काम गरिरहेका छौं । र, जनतामा त्यसको अनुभूति दिलाएका छौं ।

हामीकहाँ सडकको समस्या छ । सडकमा जताततै खाल्डाखुल्डी छन् । चालू वर्षमै सबै सडकहरूलाई स्तरोन्नति गर्ने योजना छ । करिब दुई सय किलोमिटर सडक ग्राभेल र करिब २० किलोमिटर सडक पक्की गरेका छौं । दुई सयभन्दा बढी युवालाई स्वरोजगार बनाउने खालको तालिम सञ्चालन गर्ने योजना छ । हामीले नगर सरसफाइमा पनि विशेष जोड दिएका छौं । हामी आएको ११ महिनायता नगरको सरसफाइमा धेरै सुधार भएको छ । जनतासँग गरेका प्रतिवद्धता अनुरूप दीर्घकालीन महत्व बोकेका केही योजनाको डिपिआर हुने क्रममा छ ।

नगरपालिकाको प्रशासनिक भवन थिएन । त्यसको लागि हामीले काम सुरु गरिसकेका छौं । विगतमा विकासमा न्यून खर्च गर्ने परिपाटी थियो । त्यसलाई हामीले ब्रेक गरेका छौं । अहिलेसम्म हेर्ने हो भने चालू वर्षको करिब ९५ प्रतिशत बजेट खर्च गर्दैछौं ।

सेवाप्रवाह र विकास निर्माणलाई प्रभावकारी बनाउन के–के काम गरिरहनुभएको छ ?
जनतालाई घरघरमै सेवा दिनका लागि हामीले प्रत्येक वडा कार्यालयबाट सेवाप्रवाह गरिरहेका छौं । कतिपय आफ्नै भवनमा कतिपय भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेका छौं । न्यूनतम आधार पूरा गरी वडा कार्यालय सञ्चालन गरेका छौं । कर्मचारी र जनप्रतिनिधिलाई गुणस्तरीय सेवाप्रवाहका लागि तालिम दिएका छौं । स्थानीय स्रोतलाई कसरी व्यवस्थित गरी आयआर्जन गर्न सकिन्छ भनी तालिम सञ्चालन गरेका छौं । वडाका तल्लो तहका संस्था टोल विकास समिति, आमा समूहलगायतलाई एकीकृत गरी लैजानै योजनामा छौं । हामीले केही उपलब्धि पनि हासिल गरेका छौं । विकास निर्माणका काममा जनसहभागिता बढेको छ, यो हाम्रो सबैभन्दा महत्वपूर्ण उपलब्धि हो । अहिले नगरमा कुनै कार्यक्रमबारे सूचना दिँदा हजारौ जनता उपस्थित हुने वातावरण बनेको छ ।

विकास निर्माणमा जनसहभागिता घटिरहेको अवस्थामा तपाईँले कसरी बढाउनुभयो ?
हामी निर्वाचन भएपछि करिब १५० टोल विकास संस्था गठन गर्याैं । ती संस्थाका सदस्यहरूलाई प्रशिक्षित पनि गर्याैं । संस्थालाई बजेट छुट्याउने प्रतिवद्धता गर्याैं । र, विकास निर्माणको मूलधारमा ल्याउने गरी काम गर्याैं । यसले टोलटोलमा चेतना प्रवाह भयो । अनि क्रमशः विकास निर्माणलगायत काममा जनताको सहभागिता बढ्दै गयो ।

कतिपय ठाउँमा कर्मचारी र जनप्रतिनिधिबीच द्वन्द्वको अवस्था सिर्जना भइरहेको छ, तपाईँको नगरमा कर्मचारी र जनप्रतिनिधिबीच कस्तो सम्बन्ध छ ?
सुरुका एक–दुई महिनासम्म केही नमिलेको जस्तो थियो । क्रमशः केही समयपछि कर्मचारी र जनप्रतिनिधि दुवैले एक–अर्काका समस्या बुझ्यौं । अहिले हाम्रोमा केही समस्या छैन ।
नीतिगत निर्णय हामीले गर्ने र कार्यान्वयनमा सबैभन्दा बढी कर्मचारी लाग्नुपर्छ । र, कर्मचारी नै मेरुदण्ड हो भन्ने मैले बुझेको छु । त्यो कुरा कर्मचारीहरूले पनि बुझ्नुभएको छ । निर्णय कार्यान्वयनमा उहाँहरू स्वायक्त हुनुहुन्छ । त्यसकारण काम गर्न कुनै समस्या छैन । हाम्रो नगरपालिकाका सबै कर्मचारी र जनप्रतिनिधिबीच हातेमालो सम्बन्ध छ ।

तिलोत्तमा नगरलाई समृद्ध बनाउन के–के गर्दैै हुनुहुन्छ ?
यो अत्यन्तै पर्यटकीय हिसावले महत्वपूर्ण संभावना बोकेको नगर हो । त्यसकारण हामीले पर्यटकीय प्रवद्र्धन गर्न प्रत्येक वडामा पार्क बनाउने, अन्तर्राष्ट्रियस्तरका खेल मैदान निर्माण गर्ने, सडक किनारमा हरियाली प्रवद्र्धन गर्ने, तिलोत्तमा भ्यु टावर निर्माण गर्नेलगायत काम गर्ने योजना बनाएका छौं । हरियाली प्रवद्र्धनलाई अत्यन्तै व्यवस्थित गरिरहेका छौं ।

बुद्ध सर्किटसँग जोड्ने फास्ट ट्रयाकको काम भइरहेको छ । यहाँ राष्ट्रिय गौरवका आयोजना सम्पन्न भइरहेका नगरलाई हरियाली बनाउन पनि लागिपरेका छौं । सडकमा फुलहरू रोपेर ढकमक्क नगरपालिकालाई बनाउने हाम्रो योजना छ ।
यस्तै, आउँदो वर्ष मुख्य सडकमा बुद्धका सयौं मूर्ति राख्ने हाम्रो योजना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस