कसरी पढाऊँ छोराछोरी ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कसरी पढाऊँ छोराछोरी ?


७ जेष्ठ २०७५, सोमबार


काठमाडौं । झण्डै साढे तीन वर्षअघि श्रीमानलाई भारत पठाउँदा कञ्चनपुरकी गर्भी बटालाले सुखद भविष्यको कल्पना गरेकी थिइन् । उनलाई लागेको थियो– अब दैनिक खर्च चलाउन र छोराछोरी पढाउन सहज हुन्छ । उनले सोचेजस्तै दुई महिनासम्म त उनका पतिले पैसा पठाए । तर, तेस्रो महिना भने उनले कल्पनामै नचिताएको घटना घट्यो । काम गर्न जाने क्रममा उनका श्रीमानको दुर्घटनामा ज्यान गयो ।

‘श्रीमानको मृत्यु हुँदा पनि उहाँ काम गर्ने ठाउँबाट क्षतिपूर्ति पाइएन,’ ३२ वर्षीय बटालाले दुखेसो पोखिन्, ‘त्यहाँबाट केही नपाएपछि ऋण काढेर श्रीमानको दाहसंस्कार गरेँ । त्यो ऋण लेबरी गरेर तिरेँ ।’ ऋण तिर्न कति छाक भोकै बस्नुपरेको उनले सुनाइन् । श्रीमानले काम गर्ने ठाउँबाट क्षतिपूर्ति पाएको भए पनि केही गर्न सकिने उनी बताउँछिन् ।

परिवारको आर्थिक सहारा गुमाएपछि दैनिक जीवनयापन त छँदैछ, छोराछोरी कसरी पढाउने भन्ने चिन्ताले उनलाई पिरोलेको छ । उनका तीन छोरी र एक छोरा छन् ।

अहिले उनी ज्याला मजदूरी गरी परिवारको दुई छाक त जेनतेन गुजारिरहेकी छिन् । तर, छोराछोरीको पढाई खर्च जुटाउन भने उनलाई हम्मेहम्मे छ । ‘पढाइ खर्च नहुँदा छोराछोरीको भविष्य बिग्रने हो की भन्ने चिन्ता छ,’ उनी भन्छिन्, ‘पढाऊँ भने कहाँबाट खर्च जुटाऊँ, नपढाए छोराछोरीको भविष्य बिग्रन्छ ।’ पैसा नभएकै कारण छोराछोरीले पढ्न नपाउने हो की भन्ने चिन्ताले उनलाई दिनरात पिरोल्ने गरेको छ ।

ज्याला मजदूरी गरेर कमाएको पैसाले परिवारको खर्च धान्नै मुस्किल परेको उनको दुखेसो छ । ‘लेबरी गरे दैनिक चार सय रूपैयाँ पाइन्छ, कहिलेकाहीँ त तीन सयमै गर्नुपर्ने बाध्यता छ,’ उनी भन्छिन्, ‘यति पैसाले दुई छाक टार्न ठिक्क हुन्छ । सन्चो नभएको दिन त अझै भोकै बस्नुपर्छ ।’

उनका छोराछोरी स्थानीय सरकारी विद्यालयमा पढ्छन् । ज्याला मजदूरीबाट छोराछोरीलाई लुगाकपडा तथा किताब–कापी किन्न र स्कुल खर्च बेहोर्न नपुग्ने गरेको उनी बताउँछिन् ।

उनीसँग न पर्याप्त जमिन छ न त सम्पत्ति नै । सम्पत्तिका नाममा सानो टहरा मात्रै छ ।

राज्यसँग उनको एउटै आग्रह छ– छोराछोरीलाई पढाउन आर्थिक सहारा देओस् ।

प्रतिक्रिया दिनुहोस