इमर्जेन्सीमै बस्दैनन् डाक्टर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

इमर्जेन्सीमै बस्दैनन् डाक्टर


६ जेष्ठ २०७५, आइतबार


महोत्तरी । जिल्ला अस्पतालको इमर्जेन्सी कक्षमै डाक्टर बस्ने गरेका छैनन् । इमर्जेन्सी कक्षमा डाक्टर नहुँदा बिरामीले सास्ती भोग्नुपरेको छ ।

गत शनिबार बिरामी आमाको उपचारका लागि आएका जलेश्वर–२ का सञ्जित चौधरीले इमर्जेन्सीमा खटिएका स्वास्थ्यकर्मीलाई डाक्टर बोलाइदिन आग्रह गर्दा पनि नआएको दुखेसो पोखे । यसबारे जानकारी गराउँदा पनि अस्पताल प्रशासनले पनि खासै चासो नदिएको उनको दुखेसो छ । यसबारे पत्रकारहरूलाई जानकारी गराएको केही घन्टापछि अस्पताल प्रमुख डा. राजिव झा आफै उपचारका लागि आएको उनले बताए ।

इमर्जेन्सी कक्षमा डाक्टर कहिल्यै नबस्ने गरेको जिल्ला अस्पतालका एक कर्मचारी बताउँछन् । ‘भिआइपी परिवारका कोही बिरामी भए र उनीहरूले फाने गरे मात्रै डाक्टर आउँछन्,’ ती कर्मचारी भन्छन् ।

इमर्जेन्सी कक्षमा खटिएका डाक्टर आफ्नै क्वाटरमा सुत्ने गरेको र स्वास्थ्यकर्मी बोलाउन गए उल्टै गाली खाने गरेको अस्पतालका कर्मचारी बताउँछन् ।

सामान्य नागरिक बिरामी हुँदा डाक्टर नआउने र विभिन्न बहाना बनाएर बिरामीलाई अन्यत्र पठाउने गरेका छन् ।

अस्पतालको सेवा प्रभावकारी नभएपछि यहाँका बिरामी निजी क्लिनिक, मेडिकल तथा अस्पतालमा उपचार गराउन बाध्य छन् ।

जिल्ला अस्पतालका प्रमुख डा. झाले भने बिरामी वा बिरामीका आफन्तले पत्रकारहरूलाई फोन गर्दैमा डाक्टर नआउने गरेको बताए । ‘बिरामी वा बिरामीका आफन्तले पत्रकारलाई फोन गर्दैमा डाक्टर त्यहाँ आउने हो र ?’ उनले प्रश्न गरे ।

जिल्ला अस्पतालमा ६ मेडिकल अधिकृतको दरबन्दी छ । तीमध्ये कार्यालय प्रमुख डा. राजीवकुमार झा मात्रै स्थायी हुन् । अन्य ६ डाक्टर करारमा काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस