तालपोखरामा पानी सुक्दै, डुंगा बन्द « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

तालपोखरामा पानी सुक्दै, डुंगा बन्द


४ जेष्ठ २०७५, शुक्रबार


पाल्पा । खडेरी यामसँगै रामपुरको तालपोखरामा पानी सुक्दै गएपछि अहिले डुंगा सञ्चालन बन्द गरिएको छ ।

डुंगा सञ्चालनकै कारण तालपोखरा क्षेत्रमा भरिभराउ हुने पर्यटक हिजोआज डुंगा सञ्चालन बन्द भएपछि यो क्षेत्र सुनसान बनेको छ । कृत्रिम ताललाई विकास गरेर फेवातालको झल्को दिने तालपोखरामा सञ्चालन हुँदै आएको डुंगा पानीको अभावमा बन्द गरिएको हो । रामपुर नगरपालिकाको पर्यटकीय क्षेत्रका रुपमा अगाडि बढेको तालपोखरामा डुंगा सञ्चालनमा आएपछि पर्यटकको ह्वात्तै आकर्षण बढेको थियो ।

दिनहुँ सयौँको संख्यामा तालपोखरामा डुंगा सयर गर्नेको चहलपहल बढेको थियो । अहिले पानीको अभावमा डुंगा सञ्चालन कार्य बन्द गरिएको छ । यहाँ स्थानीय कुला, नहरको पानीबाट डुंगा सुचारु गरिएको हो ।

पर्यटकको चापले कालीगण्डकीको पानी लिफ्टिङ गरेर डुंगा सञ्चालनमा थप सुविधा पुगेको थियो । विद्युत् आपूर्ति क्षमता कम भएका कारणले तालपोखरालाई आवश्यक पर्ने पानी लिफ्टिङ प्रणालीबाट ल्याउन समस्या परेको तालपोखरा संरक्षण समितिका अध्यक्ष सुनिल देवकोटाले बताए।

लिफ्टिङबाट पानी सानो आयो, खडेरीका कारण स्थानिय कुला नहरमा पानी सुक्दै जाँदा आवश्यकताअनुसार पानी पु-याउन गाह्रो भएको देवकोटाले बताए । “अहिले तालपोखरा वरपरको क्षेत्रमा भौतिक पूर्वाधार विकासका काम भइरहेका छन्, नगरपालिकाले पनि बजेट उपलब्ध गराएको छ, अब छिट्टै नै विद्युत्को भोल्टेज बढाएर कालीगण्डकीबाट लिफ्टिङ गरेर डुंगा चलाउने छौँ” उनले भने ।

वर्षायामका बेलामा पानी जम्मा हुने पोखरीलाई विकसित गरी फेवातालको झल्कोस्वरुप तालको रुपमा परिणत गरिएपछि यस तालपोखराले ठूलो संख्यामा दिनहुँ पर्यटक भित्र्याउन सफल भएको थियो । अहिले तालपोखरामा डुंगा सयर गर्न आउने पर्यटक त्यत्तिकै फर्कन बाध्य भएका छन् ।

तालपोखरामा डुंगा सञ्चालनमा ल्याएपछि डुंगामा चढेर तालको बीचमा रहेको जलेश्वर महादेवको मन्दिरमा पूजा गर्ने, घुम्ने र फर्कनेको निकै उत्साह बढाएको थियो । अहिले पानीको अभावमा तालपोखरामा डुंगा सञ्चालन बन्द हुँदा सबैको चिन्ताको विषय बनेको छ । रासस

प्रतिक्रिया दिनुहोस