एक–दुई वर्षभित्रै जनतालाई परिवर्तनको महसुस गराउँछु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

एक–दुई वर्षभित्रै जनतालाई परिवर्तनको महसुस गराउँछु


प्रशासन विशेष ब्युरो

३ जेष्ठ २०७५, बिहिबार


कर्मचारी र जनप्रतिनिधिले एउटै लक्ष्य र उद्देश्य अनुसार काम नगर्दा चाहेको परिणाम दिन नसकिने बताउँछन् घोराही उपमहानगरका मेयर नरुलाल चौधरी । जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध लगाएत घोराही नगरलाई समृद्ध बनाउने योजनाबारे प्रशासन डटकमले गरेको छोटो कुराकानी ।

जनतासँग गरेका प्रतिबद्धता के–के पूरा गर्नुभयो ?
जनतासँग गरेका प्रतिवद्धतामध्ये तत्कालै गर्न सकिने गरेका छौं । अब दीर्घकालीनरूपमा गर्न सकिने काम योजनाबद्ध रुपमा अगाडि बढाउन खोजिरहेका छौं । उपमहानगरपालिकाका १९ वडामध्ये सबैमा वडा कार्यालय राखेर जनतालाई सेवाप्रवाह गरिरहेका छौं । प्रत्येक वडालाई केन्द्रमा जोड्न सडक निर्माणको काम गरिरहेका छौं । सडक बाह्रै महिना चल्ने बनाइरहेका छौं । सबै वडामा यसै वर्ष स्वास्थ्य क्लिनिक स्थापना हुँदैछ । मुहानका पानी शुद्ध गर्न लागिरहेका छौं । विद्युत विस्तारमा पनि हामी काम गरिरहेका छौं । यस्तै शिक्षाको क्षेत्रमा पनि विभिन्न काम गरिरहेका छौं ।  चुनावका बेला गरेका सबै प्रतिबद्धता पूरा नगरे पनि जनतालाई तत्काल राहत हुने खालका काम गरिरहेका छौं ।

सेवाप्रवाह र विकास निर्माणमा जनताको गुनासो कस्तो छ ?
हामीसँग पर्याप्त जनशक्ति नहुँदा जनताले भनेकै समयमा सेवाप्रवाहमा केही कठिनाइ त छन् । तर, प्रत्येक वडामा वडा कार्यालय भएकाले त्यति जनताको गुनासो आएको छैन । बरु, विगतमा सञ्चालन भएका योजनाबारे जनताको गुनासो देखिन्छ । हामीले सञ्चालन गरेका योजनामा जनताको त्यति गुनासो छैन । मैले अहिले सञ्चालन भइरहेको दीर्घकालीन योजनाबारे अर्थमन्त्रीज्यूलाई पनि जानकारी गराइसकेको छु ।
प्रत्येक वडामा इन्टरनेट जडान गरेर एकीकृत सम्पत्ति कर संकलन गर्ने योजना छ । केही वडामा तत्कालै सुरु गर्नेछौं ।

कर्मचारीको काम गर्ने शैली कस्तो पाउनुभएको छ ?
संरचना नयाँ भएकाले कर्मचारीबाट कहिकतै कमजोरी भएजस्तो देखिन्छ । तर, हामीले यसबारे उहाँहरूलाई सचेत गराएका छौं ।

कर्मचारी परिवर्तन गर्ने पक्षमा छन् । तर, मानसिकता पुरानै जस्तो देखिन्छ । अर्काे कुरा, स्थानीय तहका कर्मचारी र निजामती कर्मचारीबीच सामान्य अन्तरविरोध देखिएको छ । तर, यसले समस्या भनै उत्पन्न गराएको छैन ।

स्थायी सरकार भनिने कर्मचारी प्रशासन अर्थात् सेलेक्टेड र जनप्रतिनिधि अर्थात् इलेक्टेड समूहबीच कसरी समन्वय गरेर अघि बढ्दै हुनुहुन्छ ?
अहिले हामीले बनाएको योजना, नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने कर्मचारी संयन्त्र नै हो । त्यसकारण कर्मचारी र जनप्रतिनिधिले एउटै लक्ष्य र उद्देश्य अनुसार काम नगर्दा चाहेको परिणाम दिन सक्दैनौं । त्यसकारण कर्मचारीको नियमित बैठक बसाउने, उहाँहरूका गुनासा सुन्ने र यसबारे छलफल गर्ने गरेका छौं । त्यसकारण कर्मचारी र जनप्रनिनिधिबीच त्यति ठूलो अन्तरविरोध छैन । यो हुनुहुँदैन भन्ने मान्यता हो । समग्रमा घोराही उपमहानगरपालिका राम्रै छ ।

घोराही उपमहानगरलाई समृद्ध बनाउन के–के योजना बनाउनुभएको छ ?
नयाँ आर्थिक वर्षको बजेट आउनुअघि उपमहानगरको प्रोफाइल बनाइसक्ने गरी काम गरिरहेको छु । घोराही नगरलाई समृद्ध सहर बनाउने चाहना छ । त्यसकारण खानेपानी, सिँचाइ, बाटोघाटो, शिक्षा, स्वास्थ्यको विकासका लागि काम गरिरहेका छौं । एक–दुई वर्षभित्र परिवर्तनको महसुस गराउने गरी काम गरिरहेका छौं ।

Tags :
प्रतिक्रिया दिनुहोस