स्वैच्छिक अवकाश प्रक्रिया अघि बढाउन माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्वैच्छिक अवकाश प्रक्रिया अघि बढाउन माग


२ जेष्ठ २०७५, बुधबार


काठमाडौं । निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनले निजामती कर्मचारीका लागि ल्याइएको स्वैच्छिक अवकास प्रक्रिया अघि बढाउन माग गरेको छ ।

युनियनले बुधबार राजधानिमा आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारले रोकेको अवकाश प्रक्रिया तत्काल अगाडि बढाउन माग गरेको हो ।

अघिल्लो सरकारले ल्याएको स्वेच्छिक अवकाश व्यवस्था वर्तमान सरकारले खर्चिलो र अनुभवी कर्मचारी अवकाश लिने भन्दै रोकेको छ । सरकारको उक्त कदमप्रति युनियनले आपत्ति जनाएको हो ।

पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले अवकासका लागि राजीनामा दिएर बसेका कर्मचारीलाई पुनः काममा पठाउन समस्या हुने भएकाले अवकाशको प्रक्रिया अगाडि बढाउनु पर्ने बताएका हुन् । ‘एउटा सरकारले ल्याएको अवकाशलाई अहिले अर्को सरकारले रोकेको छ,’ उनले भने, ‘एउटाले बनाएको कानून अर्कोले रोक्ने यो कस्तो राजनीतिक संस्कार हो । अवकाशका लागि निवेदन दिएका कर्मचारीलाई प्रक्रिया गरागरी अवकाश दिनु पर्छ ।’ ढकालले समायोजन गर्दा कर्मचारीको भावना अनुरुप गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

यस्तै युनियनका उपाध्यक्ष भोलानाथ पोखरेलले राजीनामा दिएका कर्मचारीलाई अवकाश दिएर नयाँ कर्मचारी राख्नुपर्ने बताए । उनले राजीनामा दिएका कर्मचारीको काम गर्ने इच्छा नहुने भएकाले अवकाश दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष केदारप्रसाद देवकोटाले सरकारले कर्मचारी खटाउन नसक्दा जनताको काम प्रभावित भइरहेको भन्दै विधि प्रक्रियाले कर्मचारी खटाएमा जाने बताए ।

नेपाल निजामती कर्मचारी युनियन संघका अध्यक्ष गोपाल पोखरेलले समायोजन ऐनअनुसार नै स्थायी रुपमा कर्मचारीलाई खटाउनुपर्ने बताए।

यस्तै, आधिकारिक ट्रेड युनियनले तलब भत्ताको पुनरावलोकन हुनुपर्नेसमेत माग राखेका छन् । अहिलेको बढ्दो महँगीका कारणले तलबले जीवन धान्नमा समस्या परेकाले तलब बढाउनुपर्ने माग आधिकारिक ट्रेड युनियनको छ ।

चार सचिवसहित करीब नौ हजार ६७१ जना कर्मचारीले अवकाशका लागि निवेदन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस