चिनियाँ कम्पनीले चौध अर्ब लगानी भित्र्याउन स्वीकृति « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चिनियाँ कम्पनीले चौध अर्ब लगानी भित्र्याउन स्वीकृति


१ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा एक पछि अर्को गर्दै चिनियाँ लगानी भित्रन थालेको छ ।

उद्योग विभागको उद्योग तथा लगानी प्रवर्दन बोर्डको बैठकले रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा निर्माण हुने जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीले १४ अर्ब लगानी भित्र्याउन स्वीकृति दिएको छ ।

नेपाली प्रवर्दकसमेत सहकार्यमा चिनियाँ कम्पनीले लगानी भित्र्याउन लागेको हो । कूल ७८ मेगावाट क्षमताको सो आयोजना सालासुङ्गी पावरले निर्माण गर्न लागेको हो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले हाल निर्माण गरिरहेको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाभन्दा करीब ५०० मिटरमाथि विद्युत्गृह निर्माण गर्ने गरी सालासुङ्गी पावरले विगत तीन वर्ष पहिले अनुमति लिएको थियो ।

सो आयोजनामा नेपाली लगानीकर्ताको आठ प्रतिशत र चिनियाँ लगानीकर्ता चाइना हार्वर इन्जिनियरिङको ९२ प्रतिशत लगानी रहने छ । कूल १५ अर्ब २२ करोड ७० लाख लगानी रहने सो आयोजनाको प्रवर्दक सालासुङ्गी पावरले अध्ययनको सबै काम सम्पन्न गरेको छ ।

यसअघि चिनियाँ कम्पनी चोङ्जिङ वाटर टर्बाइन वक्र्स समूहले पिपल्स इनर्जी लिमिटेडमा नौ अर्ब लगानी भित्र्याएको छ । आयोजनाले दिएको जानकारीअनुसार दोलखा र रामेछापको सिमानामा निर्माणाधीन ४८.८ मेगावाट क्षमताको सो परियोजनाको निर्माण शुरु भएको जनाएको छ ।

हाल आयोजनामा पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । पुल निर्माण, सडक निर्माण तथा विस्तार, आवास क्याम्पलगायतका काम भइरहेको आयोजनाका इन्जिनियर रामहरि शर्माले बताए । आयोजनास्थलसम्म पुग्ने र आसपासका क्षेत्रका लागि नौ किलोमिटरमध्ये तीन किलोमिटर सडक निर्माण भइसकेको छ ।

चीनको चोङ्जिङ वाटर टर्बाइन वक्र्स कम्पनीले भौतिक पूर्वाधार निर्माणको काम शुरु गरेको छ । सो आयोजनाका लागि चीनबाट नौ अर्ब रकम भित्र्याइएको छ । इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडेलमा बन्ने सो आयोजना निर्माणका लागि गत २०७४ फागुन ३० गते सम्झौता भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस