भुरुङ तातोपानीमा बाढीबाट एक करोडभन्दा बढीको क्षति « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भुरुङ तातोपानीमा बाढीबाट एक करोडभन्दा बढीको क्षति


१ जेष्ठ २०७५, मंगलबार


म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आइतबार आएको बाढीले पु-याएको क्षतिको विवरण संकलन र पीडितलाई राहत दिन शुरु गरिएको छ ।

किम्लाखर्कको ठाडो खोल्सामा आएको बाढी बस्तीतर्फ पसेपछि चार घरमा पूर्णरुपमा र ११ घरमा आंशिक क्षति हुँदा करीब एक करोड बढी क्षति भएको हो ।

बाढीले घर पुरिँदा स्थानीय रामकृष्ण मिजारको करीब १३ लाख २० हजार बराबरको क्षति भएको छ । उनको घरसहित नगद, सुन र जुत्ता पसलका सामग्री सबै पुरिँदा उक्त क्षति पीडित मिजारले बताउनुभयो । त्यसैगरी बाढीले होटल सञ्चालन गरेको घर पुरिँदा नगेन्द्र गिरीको १२ लाख बराबरको क्षति भएको छ ।

बाढीले घरभित्र पसेर पसल र होटलको लाखौँ मूल्यको सामान र पूर्वाधारमा क्षति पु¥याएको छ । बाढीबाट दशरथ कर्माचार्यको सात लाख ५० हजार, उनकुमारी पुर्जाको आठ लाख, धावा तामाङको तीन लाख, गंगामान सुनारको चार लाख, रजिया खातुनको दुई लाख, टेकनारायण पौडेलको सात लाख बराबरको क्षति भएको छ ।

त्यसैगरी गोविन्द पुर्जाको पाँच लाख, टकु पुनको तीन लाख, प्रेम रन्तिजाको चार लाख, देवेन्द्र भट्टचनको १० लाख, रिना शेरचनको एक लाख, पाल्टेन गुरुङको नौ लाख, सीताराम गुरुङको ५० हजार बराबरको क्षति भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ । बाढीबाट घरबारविहीन भएका अहिले आफन्त र स्थानीयसँग आश्रय लिएर बसेका छन् ।

प्रजिअ अधिकारीका अनुसार सोमबारनै बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले तातोपानीमा बाढीले पूर्ण क्षतिग्रस्त भएका चार घरलाई १० हजार र आंशिक क्षतिग्रस्त भएका ११ घरपरिवारलाई प्रतिपरिवार पाँच हजारका दरले राहत दिने निर्णय समेत गरेको छ । त्यस्तै, जिल्लाको दैवी प्रकोप नियन्त्रणको लागि पूर्वसर्तकता अपनाउने समेत निर्णय भएको छ ।

बाढीले प्रभावित तातोपानी क्षेत्रमा क्षति र जोखिमको अवस्था निरीक्षणको लागि पुगेका सांसद विनोद केसीले बाढीले पूर्णरुपमा घरमा क्षति पुगेकालाई वैकल्पिक बसोबासको व्यवस्था र थप जोखिमलाई नियन्त्रण गर्ने गरी वडा, गाउँपालिका र जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत एकीकृत रुपमा काम गर्न आवश्यक रहेको बताउँदै पीडितलाई राहत र सहयोगको लागि सबैलाई आह्वान गरे ।

बाढीले घर पुरिएर घरबारविहीन बनेका नगेन्द्र (लटे) गिरी र बालकृष्ण मिजारको परिवारलाई मोना जापानका सल्लाहकार यामबहादुर खड्काको पहलमा स्यामसुङ मोबाइल कम्पनीका निर्देशक डिकेश मलहोत्राले उपलब्ध गराएको टेण्ट त्रिपालसमेत रेडक्रस सोसाइटीकी आजीवन सदस्य सुनिता गिरीमार्फत हस्तान्तरण गरिएको छ ।

सो अवसरमा प्रदेश सांसद विनोद केसीले समेत बाढीपीडितलाई व्यक्तिगत रुपमा रु १० हजार सहयोग प्रदान गर्नुभएको थियो । बाढी बस्तीसँगै फलफूल लगाएको फूलबारीमा पसेपछि खेतीयोग्य जमिनसमेत पुरिएको छ ।

तातोपानीमा आएको बाढीबाट पीडित भएकाको थप राहतसँगै थप जोखिम हुन नदिन खोल्सामा आउने बाढीलाई सहजरुपमा निकास दिने र बस्तीतर्फ उच्च सतर्कता अपनाउनका लागि रोकथामका काम हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस