औद्योगिक क्षेत्रको लोडसेडिङ हट्यो : विद्युत प्राधिकरण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

औद्योगिक क्षेत्रको लोडसेडिङ हट्यो : विद्युत प्राधिकरण


३१ बैशाख २०७५, सोमबार


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ । विद्युत प्राधिकरणले सूचना प्रकाशन गरी औद्योगिक क्षेत्रमा भइरहेको दैनिक तीन घन्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको हो ।

गत चैतमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले वैशाखबाट औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका थिए । सोही निर्देशनका आधारमा औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्यको घोषणा गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘खोला तथा नदीमा वृद्धि भएको पानीको बहावका कारण रन अफ रिभर आयोजनाबाट विद्युत् उत्पादनमा भएको वृद्धि, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेका हौँ,’ घिसिङले भने, ‘अब मुलुक पूर्णरूपमा लोडसेडिङमुक्त भएको छ ।’ देशभर औद्योगिक ग्राहकको माग तीन सय मेगावाट रहेको अनुमान छ ।

प्राधिकरणले २०७३ को लक्ष्मीपूजाका दिनबाट परीक्षणकारूपमा काठमाडौं उपत्यका लगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस