आज भोटो देखाउने जात्रा मनाइँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज भोटो देखाउने जात्रा मनाइँदै


३० बैशाख २०७५, आइतबार


काठमाडौं । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलन छ । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी भोटो देखाउने जात्रामा सहभागी हुँदैछिन् ।

जात्राका अवसरमा गुठी संस्थान ललितपुर शाखा प्रमुख शैलेन्द्र श्रेष्ठले मच्छिन्द्रनाथको भोटो देखाउनेछन् । भोटो देखाउने जात्रा मच्छिन्द्रनाथको रथजात्राको मुख्य आकर्षण मानिन्छ ।

मच्छिन्द्रनाथको जात्रा करिब १६ सय वर्षअगाडि सुरु भएको किंवदन्ती छ । जात्राबारे रोचक किंवदन्ती छ ।

नागराजाकी श्रीमतीलाई आँखाको रोग लागेपछि ललितपुरका किसानलाई बोलाए । ती किसानले सहजै नागकी श्रीमतीको रोग पत्ता लगाउन सकेनन् । केही सोच्दै हत्केलामा सुर्ति माड्दै थिए, सुर्तिबाट मयल निस्कियो । त्यसपछि नागराजाकी श्रीमतीलाई त्यही मयल सेवन गर्न लगाए । त्यसले रोग सन्चो भयो ।

श्रीमतीको रोग सन्चो भएको खुुसीयालीमा नागराजाले ती किसानलाई रत्नजडित भोटो दिएर गए । त्यसपछि फुरुक्क परेका किसान भोटो लगाएर हिँड्न थाले । एकदिन भोटो निकालेर खेतमा काम गर्दा भूतले चोरेर लग्यो । पछि एक जात्रामा भूत र किसानको जम्काभेट भयो । त्यसपछि उनीहरूबीच झगडा भयो । त्यो झगडा मिलाउन उनीहरू रातो मच्छिन्द्रकहाँ पुगे । मच्छिन्द्रनाथले प्रमाण मागे । तर, दुवैले प्रमाण पेश गर्न सकेनन् । त्यसपछि भोटो मच्छिन्द्रनाथले नै राखे । त्यहिँबेलादेखि भोटो कसको हो भनेर जात्रा सुरु भएको हो ।

रातो मच्छिन्द्रनाथको रथजात्रा सबैभन्दा ठूलो र लामो जात्रा मानिन्छ । वैशाख शुक्ल प्रतिपदामा सुरु हुने यो जात्रा असार शुक्ल चौथीसम्म चल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस