स्थानीय तहमा कर्मचारी अभाव, ३० वडा सचिवविहीन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्थानीय तहमा कर्मचारी अभाव, ३० वडा सचिवविहीन


२९ बैशाख २०७५, शनिबार


दाङ । स्थानीय तहमा कर्मचारीको अभाव देखिएको छ । जिल्लाभरका स्थानीय तहका ३० वटा वडा सचिवविहीन अवस्थामा रहेका छन् । कतिपय स्थानमा एकजना सचिवले दुईवटा वडा हेर्दै आएका छन् । यसले गर्दा स्थानीयवासीले सहजरुपमा वडाबाट सेवा पाउन सकेका छैनन् ।

वडावासीले सम्बन्धित वडाबाट हुने कामका लागि सचिव पर्खन पटकपटक कार्यालय धाउनुपर्ने बाध्यता रहेको छ । एकजना सचिव भेटाउन करीब साता दिन धाउनुपर्ने र कामका लागि महिना दिनसम्म पनि लाग्ने गरेको स्थानयिवासीले गुनासो गरेका छन् । यसले उनीहरुलाई परिवर्तनको प्रत्याभूतिको साटो झनै समस्या थापिएको महसुस भएको छ ।

स्थानीय तहमा कर्मचारीको अभावका कारण काम कार्वाही प्रभावकारी हुन सकेको छैन । जिल्लामा भएका केही कर्मचारीलाई व्यवस्थापन गरिए पनि जिल्लाका अधिकांश स्थानीय तहमा समस्या देखिएको जिल्ला समन्वय अधिकारी कृष्ण गौतम बताउँछन् ।

“जिल्लामा आएका कर्मचारीलाई स्थानीय तहको आवश्यकतानुसार व्यवस्थापन गर्ने गरेका छौँ,” गौतमले भने– “तर जिल्लामै सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नपठाउँदा स्थानीय तहमा समस्या देखिएको छ ।”

घोराही र तुलसीपुर उपमहानगरपालिकाबाहेक जिल्लामा सबै स्थानीय तहमा कर्मचारी अभाव देखिएकोसमेत उनले बताए ।

“जिल्लामा करीब ३० देखि ४० जनासम्म वडा सचिवको आवश्यकता देखिएको छ, त्यत्तिकै मात्रमा अन्य कर्मचारीको समेत अभाव छ,” जिल्ला समन्वय अधिकारी गौतमले भने – जिल्लामा कर्मचारी छैनन्, मन्त्रालयले कर्मचारी पठाउँदैन ।”

जिल्लाका बंगलाचुली, राजपुर, गढवा, बबई, दंगीशरण, शान्तिनगर गाउँपालिकालगायतका स्थानीय तहमा कर्मचारीको अभाव रहेको बताइन्छ ।

देउखुरी राजपुर गाउँपालिकाका वडा नंं १, २ र ३ को काम एकै सचिव मेघसिंङ पछाइले हेर्दै आएका छन्। साबिक बेला गाविसअन्तर्गत रहेका तीन वडाको सम्पूर्ण काम आफूले विगत असार महिनादेखि हेर्दै आएको सचिव पछाइ बताउँछन्।

राजपुर गाउँपालिकामा ८ वडा रहेका छन् जसमा अहिले दुई जना मात्र सचिव रहेका छन् । वडा सचिव नभएका वडामा लेखापाल तथा प्रविधिज्ञले वडाको काम गर्ने गरेको गाउँपालिकाका अध्यक्ष लोकराज केसी बताउँछन् ।

त्यस्तै, गढवा गाउँपालिकामा पनि आठ वडामध्ये अहिले दुईमा मात्र सचिव रहेका छन् । बाँकी छ वडामा लेखापाल तथा प्रविधिज्ञले सचिवको काम गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस