मोदीको ओलीलाई सम्बोधन : मेरे भाइसाप « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मोदीको ओलीलाई सम्बोधन : मेरे भाइसाप


२८ बैशाख २०७५, शुक्रबार


काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणका क्रममा जनकपुर आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षी केपी ओलीलाई ‘मेरे भाइसाप’ सम्बोधन गरेका छन् । जानकी मन्दिरमा विशेष पूजा गरेपछि सम्बोधनका क्रममा उनले जनकपुरको स्वागतका लागि ओलीप्रति आभार व्यक्त गरे ।

उनले मन्दिर दर्शनको उत्तम व्यवस्था गरेकोमा पनि नेपाल सरकार र प्रदेश सरकारलाई पनि धन्यवाद दिए ।

एकादशीको दिन जानकी माताको चरणमा आउने शौभाग्य मिलेको भन्दै उनले खुसीसमेत व्यक्त गरेका छन् ।

आफूले पाएको सम्मान सवा सय करोड भारतीयको सम्मान भएको भन्दै मोदीले रामायण सर्किटले अब दुई देशका करोडौं हिन्दू धर्मावलम्बीलाई जोड्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउँदा नेपाल र जनकपुरबासी हर्षित भएको बताए । जनकपुर ज्ञानभूमि र तपोभूमि रहेको बताउँदै उनले जनकपुर ऐतिहासिक क्षेत्र भएको बताए । यस्तै प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच विगतमा भएका सम्झौता कार्यान्यवन गर्ने बताए । ‘यसअघि भएको सहमतिको विलम्ब भएको छ । त्यसलाई अगाडि बढाउँछौं,’ उनले भने ।

एयर इन्डियाको विशेष विमानमा जनकपुर विमानस्थलमा ओर्लिएका मोदी त्यसपछि भारतबाटै ल्याइएको कारमा जानकी मन्दिर पुगेका थिए । मोदीलाई स्वागत गर्न प्रधानमन्त्री ओली कुर्ता पाइजामामा सजिएर जनकपुर पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस