पाल्पामा विद्युतीय भुक्तानी सेवा सुरु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पाल्पामा विद्युतीय भुक्तानी सेवा सुरु


२७ बैशाख २०७५, बिहिबार


पाल्पा । कोष तथा लेखा नियन्त्रण कार्यालयले विद्युतीय भुक्तानी सेवा सुरु गरेको हो । कार्यालयले ‘हाम्रो पुस्तक पसल’लाई पहिलो विद्युतीय भुक्तानी सेवा दिएको हो । विद्युतीय भुक्तानी सेवामा केन्द्रीय सरकारी कार्यालयले भुक्तानी गर्ने रकम कोष तथा लेखा नियन्त्रण कार्यालयले सम्बन्धित पार्टी, फर्म तथा संघसंस्थाको बंैक खातामा सिधै राखिदिने प्रमुख कोष नियन्त्रक वासुदेव शर्माले बताए ।

पाल्पाका संघीय कार्यालयअन्तर्गत पार्टी, फर्म तथा संघसंस्थालाई भुक्तानी हुने रकम चेकमार्फत नभई विद्युतीय भुक्तानी सेवामार्फत सिधै बैंक खातामा जम्मा हुने शर्मा बताउँछन् । हालसम्म सरकारी कार्यालयले पार्टी, फर्म र संघसंस्थालाई एकल खाता कोष प्रणालीमार्फत् भुक्तानी गर्दै आएका थिए ।

संघीय कार्यालयले पार्टी, फर्म तथा संघसंस्थालाई दिने भुक्तानी आदेशको अनलाइन तथा लिखित कागजपत्र कोष तथा लेखा नियन्त्रण कार्यालयमा पेश गर्नुपर्ने, सोही आधारमा कार्यालयले लिखित तथा अनलाइन कागजपत्र प्रमाणित गरेपछि मात्र कार्यालयले सम्बन्धित पक्षको रकम सोझै बैंकमा जम्मा गरिदिनेछ । विद्युतीय सेवा भुक्तानीका लागि फर्मको नाम, बैंक खाता र स्थायी लेखा नं अनिवार्य हुनुपर्ने शर्माले जानकारी दिए ।

आगामी साउन १ गतेदेखि संघीय कार्यालयमा अनिवार्य रूपमा विद्युतीय सेवा भुक्तानी लागू हुने कार्यालयले जनाएको छ । सो सेवा लागू भएपछि पार्टी, फर्म तथा संघसंस्था चेक लिएर बैंक धाउनुपर्ने बाध्यता हटनुका साथै सेवाग्राहीको समय बचत हुनेछ ।

सरकारले चालू आर्थिक वर्षभित्र सबै जिल्लामा विद्युतीय भुक्तानी सेवा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस