उपल्लो मुस्ताङमा बेमौसमी हिमपात « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपल्लो मुस्ताङमा बेमौसमी हिमपात


२७ बैशाख २०७५, बिहिबार


मुस्ताङ । उपल्लो मुस्ताङमा बुधबार रातिदेखि बेमौसमी हिमपात भएको छ । साँझदेखि परेको भारी वर्षासँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा बेमौसमी हिमपात भएको हो । वैशाख महिनाको अन्तिममा हिमपात पहिलोपटक देखेको स्थानीय बूढापाकाले बताएका छन् ।

करीब आधा फिट हिउँ जमेको र बिहानसम्म पनि हिउँ पर्ने क्रम जारी रहेको छुसाङबाट अमित तुलाचनले बताए । हिमपात र वर्षासँगै बढेको चिसोका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकलगायतका विकास आयोजनाको काममा समस्या भएको छ । जोमसोमदेखि उपल्लो मुस्ताङ जोड्ने सडकमा यातायात सेवा प्रभावित भएको छ ।

स्याउलगायत खेतीबालीमा बेमौसमी हिमपातले असर गर्ने भएकाले किसान चिन्तित भएका छन् । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा पनि आधा फिटसम्म हिउँ जमेको छ । बिहानदेखि हिउँ पर्न रोकिएको र मौसममा सुधार आएकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणको तयारीलाई भने असर नगर्ने मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले बताए ।

हिमपात, वर्षा र चिसोका बाबजुद पनि मोदीको भ्रमण तथा स्वागतको तयारीमा प्रशासनिक र सुरक्षा निकायले तयारीलाई अन्तिम चरणमा पुर्याएका छन् । वर्षात्का कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी–जोमसोम सडक विभिन्न ठाउँमा अवरुद्ध बनेको छ । अवरुद्ध सडक खुलाउन बिहानैदेखि मजदूर तथा उपकरण परिचालन गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस