राष्ट्रियसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५ स्वीकृत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रियसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५ स्वीकृत


२४ बैशाख २०७५, सोमबार


काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रियसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५’ लाई बहुमतले स्वीकृत गरेको छ ।

समितिका सभापति परशुराम मेघी गुरुङले प्रस्तुत गरेको सो प्रतिवेदनलाई बहुमतले स्वीकृत गरेको हो । उनले प्रतिवेदनको सैद्धान्तिक पक्षबारे जानकारी गराउँदै संविधान प्रदत्त राष्ट्रियसभाको काम कारवाहीलाई कसरी प्रभावकारी बनाउने भन्ने विषय समेटिएको जानकारी गराए ।

प्रतिनिधिसभाको बैठक नबसेको समयमा राष्ट्रिय सरोकारको विषयमा ध्यानाकर्षण गराउनसमेत राष्ट्रियसभा बैठक बस्न सक्ने व्यवस्था नियमावलीमा समेटिएको उनले बताए । छलफलका आधारमा अपुग रहेका विषय नियमावलीमा थप गरिने सभापति गुरुङको भनाइ थियो ।

प्रतिवेदनमाथि धारणा राख्दै सांसदहरुले राष्ट्रियसभाको बैठकलाई प्रभावकारी बनाउने लक्ष्यका साथ प्रतिवेदन तयार पारिएको भन्दै केही विषयमा भने प्रष्टताको जरुरी रहेको बताए । सभा सञ्चालनको प्रभावकारी व्यवस्था गर्न, राष्ट्रियसभाका सदस्यको कार्यकालका विषयमा समेत स्पष्ट व्यवस्था गर्न उनीहरुको आग्रह थियो । उनीहरुले ५९ सदस्यीय राष्ट्रियसभा सदस्यको कार्यकालको बारेमा क्षेत्र, वर्ग तथा खुला सदस्यको छुट्टाछुट्टै व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

माथिल्लो सदनको गरिमा कायम राख्न र जनताको अपेक्षाअनुसार राष्ट्रियसभा सञ्चालन गर्न नियमावलीले विशेष ख्याल गर्नुपर्ने सांसदहरुको धारणा थियो । सांसदहरु दीनानाथ शर्मा, बद्री पाण्डे, रामनारायण बिँडारी, विमला राई पौडेल, रमेशप्रसाद यादव, बलराम बाँस्कोटा, रामप्रित पासवान र बिना पोखरेलले ‘राष्ट्रियसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५ नियमावलीको मस्यौदाको सैद्धान्तिक पक्षमाथि सुझाव दिए ।

‘राष्ट्रियसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५’ माथि संशोधन प्रस्ताव दर्ता गराउन चाहने सांसदलाई यही वैशाख २६ गते १३ः०० बजेसम्म प्रस्ताव दर्ता गराउने समयावधि दिइएको छ । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख २६ गते बुधबार १५ः०० बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस