दाताको भरमा २२ शिक्षकलाई तलब ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दाताको भरमा २२ शिक्षकलाई तलब !


२३ बैशाख २०७५, आइतबार


सुरुङ्गा । कतिपय सामुदायिक विद्यालयलाई विद्यार्थी अभाव भएर दरबन्दी कटौती होला भन्ने चिन्ता छ तर, कनकाई नगरपालिका–३ स्थित कनकाई माध्यमिक विद्यालयलाई आएका विद्यार्थीलाई व्यवस्थापन गर्न समस्या भइरहेको छ ।

कनकाई मावि सुरुङ्गामा नेपाली माध्यमका अलावा विगत आठ वर्षदेखि अंग्रेजी माध्यमबाट पठनपाठन हुँदैआएको छ । यसप्रति आकर्षित भएर त्यस क्षेत्रका विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुने क्रम बढेपछि विद्यार्थी व्यवस्थापनमा समस्या भएको हो । विद्यालयको क्षमता एक हजार ५०० भए पनि हाल दुई हजारभन्दा बढी विद्यार्थी विद्यालयमा अध्ययनरत छन् । क्षमताभन्दा बढी विद्यार्थी भएर विद्यालयले विद्यार्थी थेग्न नसक्दा विगतका वर्षदेखि नै प्रवेश परीक्षा लिन थालेको छ ।

सुरुङ्गामा रहेका नाम चलेका निजी विद्यालय पशुपति, हरिकुल, प्यारागन, देवकोटा, झापा मेरिगोल्डलगायतमा अध्ययनरत विद्यार्थी ती विद्यालय छाडेर सामुदायिक विद्यालयतर्फ आकर्षित भएका छन् । निजी विद्यालयबाट मात्रै यो वर्ष झण्डै ३०० विद्यार्थी आएका छन् । यो शैक्षिकसत्रका लागि कनकाई माविमा भर्ना हुन ३०० भन्दा बढीले प्रवेश परीक्षा दिएकामा १९५ जना मात्र उत्तीर्ण भएको विद्यालय स्रोतले जनाएको छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्किएको आरोप लागिरहेका बेला कनकाई माविमा भने विद्यार्थी थेग्न नसकेर विद्यालय प्रशासनलाई समस्या भएको विद्यालयका सहायक प्रधानाध्यापक हरिप्रसाद तिम्सिनाले बताए । उनले भने, ‘अहिले विद्यालयमा विद्यार्थीको चाप अधिक रहेकाले वर्ग विभाजन गर्नुपरेको छ ।’

विद्यार्थीको चापका कारण खानेपानी र शौचालयको समस्या चर्केको छ । विज्ञान समूहका कक्षाबाहेक कक्षा ११ र कक्षा १२ का कक्षाहरु बिहानीसत्रमा सञ्चालित छन् । बाँकी एक हजार ७०० भन्दा बढी विद्यार्थीको दिवासत्रमै पठनपाठन हुने भएकाले बसाइ व्यवस्थापन, खानेपानी र शौचालयको समस्या बढ्दै गएको छ ।

कनकाई माविमा कक्षा ८ मा मात्रै २०० जना विद्यार्थी अध्ययनरत छन् । उनीहरुलाई चार वटा वर्गमा राखेर पठनपाठन गराइँदै आइएको छ । त्यस्तै कक्षा ९ मा छ वटा वर्ग छन् भने कक्षा १० मा पाँच वटा वर्ग बनाएर विद्यार्थीलाई राखिएको छ । प्रत्येक वर्गमा ५० भन्दा बढी विद्यार्थी अध्ययन गर्छन् । तल्लो कक्षाको तुलनामा माथिल्लो कक्षामा विद्यार्थीको चाप अधिक रहेकाले पठनपाठनमा समस्या रहेको विद्यालयका अर्का सहायक प्रधानाध्यापक कर्णबहादुर डाँगीले बताए ।

कनकाई माविमा ४२ जनाको दरबन्दी छ । दरबन्दीमा रहेका शिक्षकबाट मात्र विद्यालय सञ्चालनमा समस्या भएपछि निजी दरबन्दीमा २२ जना शिक्षकलाई राखिएको छ । शिक्षकलाई तलब खुवाउन समस्या भएर पटक–पटक सरकारको ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको विद्यालय व्यवस्थापन समितिका सदस्य तथा शिक्षक प्रतिनिधि बल्लभकुमार गौतमले बताए ।

वि.सं. २०१५ मा स्थापित कनकाई मावि त्यस क्षेत्रको पुरानो विद्यालय हो । उक्त विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन शुरु भएपछि विद्यार्थीसँगै अभिभावकको समेत चहलपहल बढेको छ । कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट र ६ देखि १२ कक्षासम्म नेपाली र अंग्रेजी माध्यमका अलग–अलग वर्गमा पठनपाठन भएपछि अभिभावकको रुचि सामुदायिक विद्यालयतर्फ गएको हो ।

शिक्षकलाई तलब खुवाउन दाताको भर

विद्यालयको आन्तरिक स्रोतबाट राखिएका २२ जना शिक्षकलाई तलब खुवाउन अहिले विद्यालय प्रशासनलाई धौ–धौ छ । विद्यालयको जग्गाबाट रु २१ हजार आम्दानी भए पनि मालपोत नै एक लाखभन्दा बढी तिर्नुपरेपछि विद्यालय प्रशासनलाई समस्या छ । त्यसका अलवा विद्यालयको अन्य कुनै स्रोत नभएकाले शिक्षकलाई तलब खुवाउन दाताको भर पर्नुको विकल्प नरहेको विद्यालयका प्रधानाध्यापक निर्मलकुमार खतिवडाले बताए ।

विद्यार्थीका अभिभावकबाट सहयोग जुटाएर शिक्षकलाई तलब खुवाउनुपर्ने अवस्था हुँदा पनि सम्बन्धित निकायले विद्यालयलाई नहेरेको बताइएको छ । कनकाई माविको विद्यालय हाताभित्र छ बिगाह १५ कट्ठा जमिन छ भने बाहिर विद्यालयको नाममा ५२ बिगाह जमिन भए पनि लाभ लिन सकिएको छैन ।

विद्यालयको नाममा रहेको धेरैजसो जग्गा नदी किनारमा छ, जहाँ बर्खे बाली लगाउन समस्या छ । लिजमा लिएकाहरुले हिउँदे बालीका रुपमा खरबुजा, काँक्रा लगाउने गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीले विद्यालयको जग्गाबाट प्राप्त आम्दानीभन्दा बढी मालपोत, राजश्व तिर्नुपर्ने विडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्ने र यसका लागि कनकाई नगरपालिका, नागरिक समाज र जग्गा कमाउनेहरुले सकारात्मक भूमिका खेल्नुपर्ने बताए ।

नमूना विद्यालयको चर्चामा कनकाई

झापाका साविककै सात वटा निर्वाचन क्षेत्रमा एक–एक वटा र बिर्तामोड नगरपालिकामा रहेको महेन्द्ररत्न मावि अनारमनीलाई नमूना विद्यालय बनाउन शिक्षा मन्त्रालयले प्रस्ताव गरेको छ ।

प्रस्तावसहित शिक्षा मन्त्रालयले बजेट खाका अर्थमन्त्रालय पठाएको छ । शिक्षा मन्त्रालयले उनीहरुबाट भौतिक, प्रशासनिक, व्यवस्थापकीय र सुशासनसम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजना पनि माग गरिसकेको छ । मन्त्रालयको मागसँगै भौतिक नक्साङ्कनसहितको कार्ययोजना मन्त्रालयलाई बुझाइएको छ, जसमा कनकाई मावि पनि समावेश छ ।

नमूना विद्यालयको चर्चासँगै निकट भविष्यमा शैक्षिक गुणस्तर अझ सुध्रने अपेक्षाले अभिभावकको रुची सामुदायिक विद्यालयप्रति बढेको बताइन्छ । नमूना विद्यालयका लागि कनकाई माविले रु एक अर्ब ३१ करोडको योजना पेश गरेको विद्यालयका आधारभूत इञ्चार्ज खेमराज भट्टराईले बताए ।

शिक्षकका छोराछोरी पनि कनकाई मै

कनकाई माविका शिक्षकहरु स्वयंले आफ्ना नानीहरुलाई आफैँ अध्यापन गर्ने विद्यालयमा भर्ना गरेका छन् । यो क्रम केही वर्षअघिदेखि नै शुरु भएको हो ।

अंग्रेजी माध्यममा पठनपाठन शुरु भएपछि सोही विद्यालयबाट विगतमा शिक्षक तीर्थराज खरेल, चन्द्रप्रसाद पोखरेल, शारदा पाठक, गोपीकृष्ण भट्टराई, चन्द्रप्रसाद शिवाकोटी र जिवेन्द्र घिमिरेका छोराछोरीले एसएलसी उत्तीर्ण गरिसकेका छन् । हाल सहायक प्रधानाध्यापक डाँगी, शिक्षकहरु तीर्थराज खरेल, चन्द्रप्रसाद पोखरेल, जानुका चम्लागाईका नानीहरु र शिक्षक विक्रम बानियाँकी बहिनी अध्ययनरत छन् ।

शिक्षक र अभिभावकको विद्यालयप्रति यति धेरै आकर्षण हुँदा पनि कतिपयमा शैक्षिक गुणस्तरमा शंका रहेको पाइन्छ । यसमा व्यवस्थापन समितिका पदाधिकारीहरु पनि छन् ।

निजी स्रोतका शिक्षकका आफ्नै समस्या

कनकाई माध्यमिक विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षक आफूहरु समस्यामा रहेको बताउँछन् । निम्न माध्यमिक तहमा नियुक्त भएर पनि मावि तहमा अध्यापन गराइरहेको र योग्यता पुगेर पनि सेवा सुविधामा विद्यालयले नहेरेको अंग्रेजी माध्यमतर्फ सामाजिक विषयका शिक्षक राजेन्द्र खनालले बताए । समान कामका लागि सेवा सुविधामा विभेद हुन नहुने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस