स्वास्थ्यकर्मीको १३ बुँदे काठमाडौं घोषणापत्र जारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्वास्थ्यकर्मीको १३ बुँदे काठमाडौं घोषणापत्र जारी


२३ बैशाख २०७५, आइतबार


काठमाडौं । नेपाल स्वास्थ्यकर्मी युनियन केन्द्रीय कार्यसमितिले औषधि आपूर्ति प्रक्रिया अवरोध भई सेवा सञ्चालनमा समस्या भएकाले तत्काल आपूर्ति गरिनुपर्ने लगायत माग राखी १३ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ ।

समितिको यही वैशाख १७ र १८ गते बसेको बैठकले दुर्गम एवं विकट जिल्ला र अन्य स्थानमा रिक्त दरबन्दीमा तत्काल पदपूर्तिको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य संस्था र स्थानीय तहका कार्यालयमा भौतिक संरचना तथा अति आवश्यक फर्निचर, औजार उपकरणको व्यवस्था गर्न माग गरेको छ ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको स्वेच्छिक अवकाशसम्बन्धी व्यवस्थालाई अनिवार्य कार्यान्वयन गरिनुपर्ने, प्रदेशमा स्वास्थ्य मन्त्रालय रहने संवैधानिक व्यवस्था तत्काल लागू गरी संघीयतामा जनस्वास्थ्य सेवाको अधिकारको प्रत्याभूति प्रदेशलाई सुम्पिनुपर्ने र स्वास्थ्य सेवाका कर्मचारलिाई निजामतिको कर्मचारीमा नमिलाई अलगै संरचनामा राख्नुपर्ने माग गरिएको युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिए ।

स्थानीय तहका स्वास्थ्य सेवालगायत अन्य विषयगत शाखामा काम गर्ने कर्मचारीलाई असमान व्यवहार गर्ने गरेको पाइएको जनाउँदै घोषणापत्रमा एउटै कार्यालय र एउटै हाजिरीमा उपस्थित हुने कर्मचारीलाई समान व्यवहार गरिनुपर्नेमा जोड दिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस