तथ्याङ्क विभागले तयार पार्यो स्थानीय तहका कोड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तथ्याङ्क विभागले तयार पार्यो स्थानीय तहका कोड


१९ बैशाख २०७५, बुधबार


काठमाडौं । संघीय राज्यको पूर्नसंरचनाका साथसाथै केन्द्रीय तथ्याङ्क विभागले प्रदेश, जिल्ला र स्थानीय तहका कोड तयार पारेको छ ।

तथ्याङ्क व्यवस्थापनमा भौगोलिक कोडको निकै ठूलो महत्व हुने भएकाले राज्यमा कायम रहेका तीन वटै तहको कोड तयार पारिएको हो ।

यसअघि ५ विकास क्षेत्र, जिल्ला र स्थानीय निकायहरुको कोड प्रयोग गरिन्थ्यो । हाल जिल्लाको संख्या ७५ बाट ७७ कायम भएको र स्थानीय तहको संख्या ७ सय ५३ रहेका छन् । राज्यका सबैजसो निकायहरुले तथ्याङ्क व्यवस्थापनमा कोड प्रयोग गर्नुपर्ने अपरिहार्य रहेकाले एउटै कोड प्रयोग गर्दा निकै सजिलो हुने भएकाले यस्तो गरिएको विभागले जनाएको छ ।

विभिन्न निकायहरुले आ–आफ्नै तरिकाले कोड प्रयोग गर्ने अभ्यास पनि रहेको छ, जसले गर्दा तथ्याङ्क प्रयोगकर्तालाई अप्ठ्यारो परेको अवस्था रहेको बताइएको छ । एउटै कोड प्रयोग गर्दा फरक–फरक निकायले उत्पादन गरेको तथ्याङ्क एकै ठाँउमा एकिकृत गरी प्रयोगकर्ता मैत्री तरिकाले प्रयोग गर्न सकिने विभागको विश्वास छ ।

भौगोलिक कोडको धेरै प्रयोग गर्ने सरकारी निकायहरुमा केन्द्रीय तथ्याङ्क विभाग, संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय, पञ्जीकरण विभाग, स्वास्थ्य सेवा विभाग, शिक्षा विभाग, नापी विभाग रहेका छन् ।

तथ्याङ्क विभागले तयार पारेको कोडमा हाल कायम ७ वटा प्रदेशलाई १, २, ३, ४, ५, ६, ७ गरी कोड कायम गरिएको छ । पछि प्रदेशको नामाकरण पश्चात पनि हालको कोड नै कायम हुने बताइएको छ ।

त्यसै गरी हाल कायम ७७ जिल्लालाई प्रदेश अनुसार ३ डिजिटमा कोडिंग गरिएको छ ।

प्रत्येक प्रदेशमा जिल्लाहरुको संख्या फरक फरक भएकाले प्रदेश भित्रका जिल्लाहरुको कोडिंग गर्दा सकेसम्म उत्तर पूर्वी दिशाबाट शुरु गरी अग्रेजी अक्षर ‘S’ हुने गरी जिल्लाको कोड राखिएको छ ।

जिल्लाको कोडको पहिलो नम्बरले प्रदेशको नम्बर जनाउने छ भने पछिल्ला दुईवटा नम्बरले प्रदेश भित्रका जिल्लाको कोड जनाउने छ । अब जिल्ला कोड ३०६ ले प्रदेश नं। ३ को छैठौं जिल्ला भन्ने बुझ्नुपर्दछ जुन काठमाडौं हो ।

त्यसैगरी प्रत्येक प्रदेश भित्र जिल्लाको कोड गरे जस्तै गरि जिल्ला भित्रपनी प्रत्येक स्थानीय तहको कोड बनाईएको छ जुन ५ वटा डिजिटमा छ । जसमा पहिलो १ अंकले प्रदेश, त्यसपछिका २ अंक जिल्ला र त्यसपछिका २ अंकले स्थानीय तह (पालिका)को कोड जनाउने छ । उदाहरणका लागि ५०५०१ ले प्रदेश नं. ५, अर्घाखाँची जिल्लाको छत्रदेव गाँउपालिका भन्ने बुझाउँछ ।

अब प्रत्येक पालिकाको कोड पछाडि २ डिजिटको वडा नम्बर थप्ने हो भने ७ डिजिटको वडास्तरीय कोड बनाउन सकिन्छ । यहाँ ५०५०१०३ ले प्रदेश नं. ५, अर्घाखाँची जिल्लाको छत्रदेव गाँउपालिकाको वडा नं. ३ भन्ने बुझाउँछ ।

विभागले तयार पारेको कोड विभागको वेभसाईट http://cbs.gov.np/GCSDLB2074बाट डाउनलोड गर्न सकिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस