बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती : अध्यक्ष दाहाल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती : अध्यक्ष दाहाल


३० चैत्र २०७४, शुक्रबार


प्रहरी ऐन

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दाहोर्याएका छन् । बाँदरमुढे सहयोग समितिले आज माडीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले बाँदरमुढे पीडितको घाउमा मल्हमपट्टी लगाउने आफ्नो नैतिक र राजनीतिक जिम्मेवारी रहेको बताए। अहिले बलियो सरकार भएको भन्दै उनले राज्यका तर्फबाट हिजो भएका समझदारी अनुसार काम गर्न सकिने बताए ।

बाँदरमुढे पीडितसँग निर्वाचनका समयमा आफूले गरेको तीन बुँदे सम्झौता कार्ययोजना बनाएर काम अगाडि बढेको उनले बताए। यसअघिको सरकारले बाँदरमुढे घटनामा मृत्यु भएकालाई गरेको शहीद घोषणाप्रति कुनै विवाद नरहेको उनले प्रष्ट्याए । घटनाका पीडितलाई परिचयपत्र वितरण गरेर सरकारका तर्फबाट राहतका काम अगाडि बढ्ने दाहालले बताए । सो अवसरमा बाँदरमुढे पीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपाने, मैना लामिछाने र विश्वनाथ पौडेलले घाइतेको औषधि उपचार निःशुल्क हुनुपर्ने, यसअघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने बाँदरमुढेका नाममा उठाइएको राहत रकम स्पष्ट गरिनु पर्ने लगायतका माग राखेका थिए ।

विसं २०६२ जेठ २३ गते तत्कालीन विद्रोही नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परेर सार्वजनिक बसमा सवार ३८ जनाको मृत्यु भएको थियो भने ७२ घाइते भएका थिए । यसअघि आजै माडीमा जनप्रतिनिधिसँग अन्तरक्रिया गर्दै अध्यक्ष दाहालले निकुञ्ज ऐन, २०२९ संशोधनको पहल थाल्ने बताए । सो क्षेत्रका निर्वाचित सांसदसमेत रहेका दाहालले चितवन राष्ट्रिय निकुञ्ज जनतालाई बरदान नभएर अभिशाप भएको बताए । उनले निकुञ्ज जनता बरदान हुने गरी ऐन संशोधन गर्न जोड दिए । उनले भने, ‘ऐन परिवर्तन गर्न नसके जनताको आन्दोलनमा म सहभागी हुन्छु ।’ माडीको समृद्धि गर्न सके देशको समृद्धि हुने भन्दै उनले गाउँगाउँबाट विकास निर्माणका काम थाल्नुपर्ने बताए।

कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, नेकपा (एमाले) नगर इन्चार्ज नारदमणि पौडेल, जिल्ला समन्वय समितिका सदस्य चूडामणि महतोलगायतले त्यस क्षेत्रका समस्याका बारेमा दाहाललाई अवगत गराएका थिए । रासस

प्रतिक्रिया दिनुहोस