जर्नेलको पीए र एआईजीको श्रीमतीका नाममा ठगी गर्ने गिरोह पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जर्नेलको पीए र एआईजीको श्रीमतीका नाममा ठगी गर्ने गिरोह पक्राउ


२२ चैत्र २०७४, बिहिबार


काठमाडौं । नेपाली सेनाको जर्नेलको पीए र राष्ट्रिय अनुसन्धान विभागका एआईजीको श्रीमती भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी परिसर काठमाडौं टोलीले लमजुङ घर भई काठमाडौं तारकेश्वर बस्दै आएका मोहन दुरा, मनमैजु बस्ने पशुपति अधिकारी, तनहुँ व्यास बस्ने यमुना खड्का र वनस्थली बस्ने रमेश कुमाललाई पक्राउ गरेको हो ।

उनीहरुले सेना, प्रहरी र राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिनेदेखि क्यानडा, अमेरिका, पोल्याण्ड पठाइदिने भन्दै विभिन्न व्यक्तिहरुसँग १ करोड १५ लाखभन्दा बढी उठाएको प्रहरीले जनाएको छ ।

काठमाडौ्र प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार उक्त गिरोहले राष्ट्रिय अनुसन्धान विभागको सिपाहीमा भर्ना गर्ने भन्दै २ लाख, शान्ति मिसनमा पठाउन २ लाख तथा सेनाको सेकेण्ड लेफ्टिनेन्ट बनाइदिने भन्दै ७ लाख लिएको देखिएको छ ।

त्यसैगरी पोल्याण्ड लगाएत अमेरिका, क्यानडा पठाइदिने नाममा प्रतिव्यक्ति एक लाख ५० हजारका दरले करीब एक करोड १५ बढी उठाएको देखिन्छ ।

पक्राउ परेकी यमुनाले आफू राष्ट्रिय अनुसन्धान विभागका एआईजीकी श्रीमती र मोहन दुराले नेपाली सेनाको जमदार तथा वहालवाला जर्नेलको पीए बताउने गरेको प्रहरीले जनाएको छ ।

उक्त गिरोहबाट धेरै व्यक्ति ठगिएको हुन सक्ने तथा ठगी कार्यमा संलग्न अन्य केही व्यक्तिको पहिचान भइ खोजी कार्य जारी रहेको एसएसपी पोखरेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस