सरकारले चाह्यो भने अझ कति गर्न सकिन्थ्यो होला ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारले चाह्यो भने अझ कति गर्न सकिन्थ्यो होला ?


१६ चैत्र २०७४, शुक्रबार


सर्वाधिक पुरस्कार राशीको दोस्रो धनगढी प्रिमियर लिग(डीपीएल) क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । देशभरीबाट खेलाडी र दर्शकहरु आउने क्रम जारी छ । भोलीदेखि शुरु हुने देशकै सर्वाधिक धनराशी पुरस्कार भएको रुस्लान डीपीएलले धनगढीको माहौल तताउँदै लगेको छ ।

शुरुवातीदेखि नै हामीले प्रविधिमा जोड दिँदै आएका छौं । यद्यपी काठमाडौंको दाँजोमा धनगढीमा निकै कठिन छ । भौतिक पूर्वाधारदेखि सामाग्रीहरुको उपलब्धतासम्मका कठिनाइ रहँदै आएको भएपनि सकेसम्म राम्रो बनाउने प्रयासमा छौं । खेल मैदानलाई अन्तराष्ट्रियस्तरकै प्रतियोगिताको अनुभुति हुनेछ । दर्शकका लागि प्याराफिट पनि तयार भइ सकेको छ । हामीले यसपालि लाइटिङदेखि लिएर ग्राउण्डमा पहिलो पटक डिजिटल स्कोर बोर्ड प्रयोग गर्दै छौं । हरेक टीममा दुइजना विदेशी खेलाडी समावेश गर्ने निर्णय भएको छ । यसले खेलाडीहरुबीच सम्बन्ध बिस्तारदेखि केही नयाँ सिक्न पाउने अवसर समेत जुराउने छ । उत्कृष्ट खेलाडीलाई सुनको जुत्ता अर्को आकर्षण हो । त्यसैगरी जम्मा १९ वटा खेल खेलाइने प्रतियोगीताको विजेताले २५ लाख, उपविजेताले १० लाख र तेस्रो र चौथो हुनेले क्रमशः तीन र दुइ लाख पाउने छन् । खेलाडीहरुका लागि यो पनि आफैमा एउटा ठूलो हौसला हो ।

नेपालमा खेलकुदको क्षेत्रमा पछिल्ला वर्षमा धेरै परिवर्तन आएको छ । खेलकुदमा लगानी गरेर पनि राम्रै माइलेज पाइन्छ भन्ने कुरा लगानीकर्तालाई महशुस भएको छ । हामी यहाँ सम्म पुग्नुमा स्पोन्सरहरुकै ठूलो साथ छ । स्थानीयदेखि देशभरीबाट जुन साथ, समर्थन र सहयोग पाइरहेका छौं, यसले खेलाडी, आयोजक र क्रिकेटप्रेमीहरुलाई हौस्याएको छ । नेपालमा क्रिकेटको सम्भावना व्यापक भएकाले आगामी दिनमा लगानीको सम्भावना पनि फराकिलो रहेको देखिएको छ ।

यो कुनै व्यक्तिगत स्वार्थको लागि नभई देशकै हितका लागि हो । हामी क्रिकेटको विकासका लागि काम गरेका हौं । एउटै सोच भएका युवाहरुको टीम छ हामीसँग । जसको एउटा मात्रै उद्येश्य हो, नेपाली क्रिकेटको विकास । नितान्त क्रिकेटको विकास । हामी न क्यानमा आउने कोसिस गरिरहेका छौं, न कुनै संस्थामा नै छौं । यो एउटा अभियान हो । हरेक क्षेत्रमा पछाडि पारिँदै आएको सुदूरपश्चिमबाट कुनै सरकारी तथा गैर सरकारी निकायको बजेट बिना नै देशकै सर्वाधिक धनराशीको प्रतियोगिता संचालन गर्नु भनेको चानचुने कुरा होइन । यो राज्यलाई दबाब पनि हो । युवाहरुको सानो समूहले त यति धेरै गर्न सक्छ भने सरकारले चाह्यो भने अझ कति गर्न सकिन्थ्यो होला ?

हामीले चाहेको वल्र्डकप नै हो । यस पटक एक दिने मान्यता पाएका छौं । अवको स्टेप वल्डकप क्वालीफाइड नै हो । राज्यले खासै लगानी गर्न नसकेको र काम गरिरहेका निकायहरु पनि आफ्नो झमेलामा अल्झिरहेका बेला जुन खेलाडीहरुले आफ्नै बलबुतामा यतिसम्म पुग्न सके, यसमा अब सरकारको आँखा खुल्न जरुरी छ ।

क्रिकेटको विकासका लागि जिल्लाजिल्लामा प्रतियोगीता संचालन गरिनु पर्छ । गाउँका ट्यालेन्टहरुलाई उजागर हुने मौका दिइनु पर्छ । जस्तो अहिले सन्दीप उदायका छन् । आइपिएलमा खेल्नु हाम्रा लागि गौरवको कुरा हो । उनी पनि गाँउकै क्षमतावान खेलाडी हुन् । यस्ता प्रतिभाशाली युवाहरु देशका कुना काप्चामा लुकेर बसेको अवस्था छ, तिनिहरुलाई बाहिर ल्याउन जिल्ला जिल्लामा टुनामेन्टहरु हुन जरुरी छ ।

धनगढी प्रिमियर लिग(डीपीएल)ले देशका सबै शहरहरुको प्रतिनिधित्व हुँदै आएको छ । धेरै हदसम्म यसले पछि देशभरीबाट क्षमतावान प्रतिभाहरुलाई बाहिर ल्याउने अवसर प्रदान गरेको छ । राम्रा खेलाडीहरु नेपाली खेलमा परेका थिए ।

खेलकुदको माध्यमबाट खेल मात्र नभइ सिँगो राष्ट्रलाई नै माथि पुर्याउन सकिन्छ भन्ने हाम्रो सोचाई छ । स्पोर्टस् फर टुरिज्म भन्ने हाम्रो थिम नै छ । नेपालमा खेल पर्यटनको सम्भावना उत्तिकै धेरै छ ।

ड्रिम फाप्ला हाम्रो सपना हो । अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणका लागि सरकारलाई दबाब पनि हो । डीपीएललाई देशभरी नै लैजाने हाम्रो एउटा लक्ष छ । प्रत्येक शहरमा खेल्ने । यही गतिमा अघि बढ्ने हो त्यो चाँडै पुरा हुने छ । यसले देशब्यापी रुपमा क्रिकेटको माहौल बनाउने छ ।

क्रिकेटको विकासका लागि नेतृत्वमा हुनुपर्ने जुन गुण हुन् ति सुवास शाहीमा छन् । नेतृत्व गर्ने व्यक्तिमा स्वच्छ छवी र पारदर्शिता चाहिन्छ नै । चाहे जुनसुकै क्षेत्रमा किन नहोस् यदी नेतृत्वमा इमान्दारीता, पारदर्शिता र लगाव छैन भने अगाडी बढ्न सकिँदैन । आज हामी यो अवस्थासम्म आइपुग्नुमा पारदर्शीता नै सबैभन्दा महत्वपूर्ण पाटो हो । हामीसँग एउटा युवाहरुको टीम छ । टीमका सदस्यहरुमा भएको सकरात्मक सोच नै ठूलो शक्ति हो । सुदूरबाट उदाएको यो शक्ति देशै उज्यालो बनाउने अभियानमा छ । निरन्तर । निरन्तर ।

Tags :
प्रतिक्रिया दिनुहोस