सैनिक मञ्चमा १८ हजार पूर्व सैनिक भेला हुँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सैनिक मञ्चमा १८ हजार पूर्व सैनिक भेला हुँदै


१६ चैत्र २०७४, शुक्रबार


नेपाली सेना

काठमाडौं । सैनिक मञ्च टुँडिखेलमा पहिलो पटक भोलि (शनिबार) १८ हजारभन्दा बढी भूपू सैनिकको जमघट हुँदैछ ।

उपत्यका पृतना मातहतका काठमाडौं। ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लामा बसोबास गर्ने १८ हजार ७०० भूपू सैनिक टुँडिखेलमा भेला हुने नेपाली सेनाले जनाएको छ ।

भूपू सैनिक सम्मेलनका अवसरमा ती जिल्लाका पूर्व सैनिकहरु एकै पटक टुँडिखेलमा भेला हुन लागेका हुन् ।

यस पटकको पूर्व सैनिकको सम्मेलन २०७३ माघ २१ गते धनगढीबाट सुरु भएकामा शनिबार टुँडिखेलमा मैजारो हुँदैछ । यस बीचमा नेपालगञ्ज, सुर्खेत, बुटवल, खैरेनीटार, पोखरा, सिन्धुली, त्रिशूली, धनुषा, भरतपुर, इटहरी, हिले र गाईघाटमा सम्मेलन भइसकेका छन् ।

पछिल्लो समय प्रत्येक प्रधानसेनापतिको कार्यकालमा एक पटक मुलुकभर पूर्व सैनिकको सम्मेलन गर्ने नीति सेना कार्यान्वयनमा ल्याएको छ ।

विगत द्वन्द्वको समयमा लामो समयसम्म रोकिएको भूपू सम्मेलन २०७० सालदेखि सुरु भएको थियो ।

मुलुकभर भूपू सैनिकको संख्या ७० हजारको हाराहारीमा छ ।

सम्मेलनका क्रममा पूर्व सैनिकको जीवनस्तर उकास्न सञ्चालन हुने लघुवित्त कार्यक्रमका लागि सहुलियत ब्याजदरमा ऋण प्रदान र स्वास्थ्य शिविरजस्ता सेवामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् । सम्मेलनका बेला सैनिक नेतृत्वबाट पूर्व सैनिकका गुनासो सुन्ने र त्यसलाई सम्बोधन गर्ने प्रचलन छ । त्यसैगरी, भूपू सैनिकबाट बहालमा रहेकै झझल्को दिने गरी परेड तथा जिल्लागत रुपमा सांस्कृतिक झाँकी प्रस्तुत हुने गर्छ ।

पछिल्ला सम्मेलनमा सहभागीलाई सेनाले कल्याणकारी कोषमार्फत बाटो खर्च, औषधिसहितको प्याकेज तथा कम्बल उपलब्ध गराउँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस