किमको चीन भ्रमण सकारात्मक– राष्ट्रपति ट्रम्प « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

किमको चीन भ्रमण सकारात्मक– राष्ट्रपति ट्रम्प


१५ चैत्र २०७४, बिहिबार


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले हालै गरेको चीन भ्रमणलाई सकारात्मक भनेका छन् ।

उनले किमको सो भ्रमणले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको काममा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताएका हुन् ।

उनले आफ्नो ट्वीट अकाउन्टमा भनेका छन्, ‘यो राम्रो अवसर हो र किमले अब कोरियाली प्रायद्वीपमा के गर्दा आफ्ना जनता र मानवीयताका लागि ठीक हुन्छ भन्ने बारेमा बुझ्नुहुने छ र त्यही गर्नुहुने छ ।’

उक्त भ्रमण र चिनियाँ राष्ट्रपतिसँगको भेटवार्ताका बारेमा पनि सूचना पाएको र सो भेटवार्ता राम्रो भएको थाहा भएको पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

त्यसैगरी बुधबार पनि एक प्रेस ब्रिफिङ्का क्रममा ह्वाइट हाउसका प्रवक्ताले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका क्षेत्रमा पछिल्लो समयमा निकै राम्रो प्रगति हुँदै गएको जानकारी दिएका छन् ।

चीनले भन्यो :उत्तर कोरिया परमाणु निःशस्त्रीकरणमा सहमत

चीनले उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्वीपमा परमाणु निःशस्त्रीकरणका लागि सहमति जनाएको बताएको छ ।

हालै मात्र अकस्मात चीनको भ्रमणमा पुगेका नेता किमले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा भएको भेटवार्ताका क्रममा यस्तो सहमति जनाएको चीनको भनाइ आएको छ ।

तर उत्तर कोरियाका पछिल्ला प्रयासहरूलाई पनि दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाले पनि सकारात्मक रुपमा लिनुपर्ने उनको भनाइ थियो ।

नेता किमले चिनियाँ राष्ट्रपतिसँगको छलफलका क्रममा अहिले उत्तर कोरियाले वार्ताका लागि वातावरण खोज्दै हिँडेको भन्दै यसलाई राम्रो रुपमा लिन सक्दा मात्र निःशस्त्रीकरणको मुद्दा समाधान हुने बताएका हुन् ।

उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनले यस भ्रमणले कोरियाली प्रायद्वीपमा प्रगति हुने र द्विपक्षीय सम्बन्धमा सुधार ल्याउन पनि सहयोग पुग्ने बताएको छ ।

उत्तर कोरियाली नेताका रुपमा सात वर्षअघि सत्ता सम्हालेयता किमले पहिलो पटक गरेको विदेश भ्रमणका क्रममा चीन पुगेका हुन् ।

नेता किमले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि वार्ता गर्ने भएका छन् । यी दुई नेताबीच आगामी मे महिनामा शिखर बैठक हुने भनिएको छ । सोही बैठकअघि उनको यो भ्रमण भएको हो ।

दक्षिण कोरियाको समर्थन

उक्त चीन भ्रमणको दक्षिण कोरियाले पनि समर्थन गरेको छ । दक्षिण कोरियाको विदेश मन्त्रालयले सो भ्रमण कोरियाली प्रयद्वीपमा शान्ति प्रक्रियाको लागि फलदायी हुने बताएको छ ।

दक्षिण कोरियाको विदेश मन्त्रालयले किमको चीन भ्रमणको स्वागत गरेको विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो ।

उत्तर र दक्षिण कोरियाली प्रमुखहरुले आगामी अप्रिल महिनामा भेटवार्ता गर्ने कार्यक्रम बनाइएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले यस विषयमा सार्वजनिक गरेका छन् ।

चीन उत्तर कोरियाको निकटको देश मात्र नभएर प्रमुख आर्थिक सहयोगी राष्ट्र पनि हो । त्यसैले उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग भेटवार्ता गर्नुअघि चीनसँग सल्लाह गर्नसक्ने सम्भावना रहेको बताइएको थियो । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस