‘काठमाडौं प्रहरी अवार्ड’ घोषणा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

‘काठमाडौं प्रहरी अवार्ड’ घोषणा


१३ चैत्र २०७४, मंगलबार


काठमाडौं । महानगरीय प्रहरी परिसरले ‘काठमाडौं प्रहरी अवार्ड’ घोषणा गरेको छ ।

परिसरले नेपाल बंगलादेश बैँकको सहकार्यमा हरेक महिना उत्कृष्ट कार्य गर्ने प्रहरी जवानदेखि प्रहरी नायब उपरीक्षकसम्म प्रत्येक महिना एक जनाका दरले छ जनालाई नगदसहित पुरस्कृत गर्न लागेको हो । पुरस्कारका लागि बंगलादेश बैँकले परिसरलाई १८ लाख ६० हजार आर्थिक सहयोग गरेको छ । पुरस्कारको राशि जवानलाई दश हजार, प्रहरी हबल्दारलाई १५ हजार, प्रहरी सहायक निरीक्षकलाई २० हजार, प्रहरी नायब निरीक्षकलाई २५ हजार, प्रहरी निरीक्षकलाई ३५ हजार र प्रहरी नायब उपरीक्षकलाई ५० हजार पुरस्कार हुनेछन् ।

परिसरका प्रमुख विश्वराज पोखरेल र बैँकका प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद ढुंगानाले सोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

कार्यक्रममा परिसरका प्रमुख पोखरेलले यस्तो सहयोगले प्रहरीलाई कार्यसम्पादन गर्न थप हौसला मिल्ने विश्वास व्यक्त गरे । उनले हरेक महिना छ जनाका दरले एक वर्षमा ७२ प्रहरीलाई पुरस्कृत गर्न लागिएको जानकारी दिए । बैँकका प्रमुख कार्यकारी निर्देशक ढुंगानाले सामाजिक उत्तरदायित्व वहन गर्न बैँकले परिसरसँग सहकार्य गरेको बताए । अहिले महानगरीय प्रहरी परिसरअन्तर्गत तीन हजार ३०० प्रहरी कर्मचारी कार्यरत छन् । रासस

प्रतिक्रिया दिनुहोस