धुलो धुवाँबाट आँखा बचाउन चिकित्सकको सुझाव « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

धुलो धुवाँबाट आँखा बचाउन चिकित्सकको सुझाव


१२ चैत्र २०७४, सोमबार


चितवन । गर्मी शुरु भएसँगै ठाउँ ठाउँमा लागेको डढेलो, धुलोलगायत कारण यसको प्रत्यक्ष प्रभाव आँखामा पर्न थालेको छ ।

तराईदेखि पहाडसम्मका राष्ट्रिय वन, सामुदायिक वन, निकुञ्ज, निजी वनमा यतिबेला डढेलो लाग्ने गरेको छ । कतिपय ठाउँमा घाँसे मैदान व्यवस्थापनका लागि आगलागी पनि गर्ने गरिएको छ । धुलो र खरानी टाढा टाढासम्म फैलिएर मानव स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ ।

श्वासप्रश्वाससँगै आँखा रातो हुने, बिझाउने, धुलोका कण नानीमा अड्किएर घाउ हुनेजस्ता समस्या देखिएका छन् । भरतपुर आँखा अस्पतालका डा। पुष्पा गिरी श्रेष्ठ धुलो धुवाँका कारण विभिन्न समस्या लिएर बिरामी आउन थालेको बताउँछिन् । उनले आँखालाई धुवाँ धुलोबाट बचाउन सकेसम्म चस्मा लगाउने, सम्भव नभए घरबाट बाहिरिँदा र फर्किंदा सफा पानीले आँखा सफा गर्न सुझाव दिइन् ।

उनले आँखा बचाउनका लागि कालो चस्मा प्रयोग गर्न सुझाव दिइन् । यद्यपि समय समयमा आँखालाई विस्तारै सफा पानीले सफा गरेमा समस्या कम हुने डा। श्रेष्ठको भनाइ छ ।

घरबाट खेतबारीमा होस् वा शहर बजार जहाँ जाँदा पनि आँखा सफा पानीले सफा गरेर जाने, सम्भव भएको समयमा सफा पानीले सफा गरिरहने र घर फर्किएपछि पनि सफा गर्ने गरेमा आँखालाई बचाउन सकिने श्रेष्ठ बताउँछिन् ।

तराई र भित्री मधेशको आकाश यतिबेला धुलोका कण, धुवाँ र खरानीले भरिएको छ । ती सबै आँखाका लागि हानिकारक छन् । रुख बिरुवाको पालुवा पलाउने समय भएकाले यतिबेला त्यसकै कारण पनि आँखामा एलर्जी हुने हुँदा त्यसबाट जोगिन उनले सुझाव दिइन् ।

आँखामा धुलो धुवाँ पसेर अप्ठ्यारो भएमा नमिच्न र दबाब हुने गरी पानी नपार्न उनले आग्रह गर्दै तत्काल आँखा अस्पताल वा स्वास्थ्य संस्थामा जान सुझाव दिइन् ।

अस्पतालमा आँखा पाकेर, संक्रमण भएर, नानीमा घाउ भएर बिरामी आउन शुरु गरेको भन्दै डा श्रेष्ठले बालबालिका र वृद्धवृद्धालाई पनि सन्देश दिनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस