मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद


९ चैत्र २०७४, शुक्रबार


नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र दुई लाख ५० हजार जरिवानाको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीनजनालाई कैदका साथै जरिवानाको फैसला गरेको हो ।

तामाङसहित उनका सहयोगीहरु सोही स्थानका शुकमान लामालाई ३२ वर्ष तीन महिना २३ दिन कैद र टीकाराम तामाङलाई ३० वर्ष कैदसहित जनही दुई लाख ५० हजार जरिवानाको फैसला भएको अदालतका स्रेस्तेदार महिमानसिंह विष्टले जानकारी दिए ।

भारतमा बेचिएका युवतीले घर फर्किएपछि सामाजिक संस्थाको सहयोगमा तीनैजना विरुद्ध २०७२ कात्तिक १८ गते मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए । नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गत पुस ७ गते पक्राउ गरी मानव बेचबिखनको मुद्दा काठमाडौं जिल्ला अदालतमा समेत दायर गरेको थियो ।

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुद्दाका आरोपित अवतार तामाङ, पासाङ तामाङ र राधा तामाङको मुद्दा भने मुल्तवीमा राखिएको छ । उनीहरु हाल फरार छन् । रासस

प्रतिक्रिया दिनुहोस