चैते धान रोपाइँको चटारो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चैते धान रोपाइँको चटारो


८ चैत्र २०७४, बिहिबार


चितवन । जिल्लाको पूर्वी क्षेत्रमा चैते धान लगाउने चटारो शुरु भएको छ ।

उत्पादन पर्याप्त हुने भएपछि सिञ्चित क्षेत्रमा कृषक चैते धान लगाउन लालायित भएका हुन् । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेका अनुसार पूर्वी चितवनको रत्ननगरदेखि पिप्लेसम्म राप्ती नजिकका क्षेत्रमा चैते धान लगाउन शुरु गरिएको छ ।

चैतको पहिलो सातावाट चैते धान रोप्न शुरु गरिन्छ । असार महिनामा चैते धान भित्र्याउने गरिन्छ । जिल्लामा गतवर्ष पाँच हजार हेक्टरमा चैते धान लगाउँदा २२ हजार पाँच सय मेट्रिक टन उत्पादन भएको थियो ।

नब्बे प्रतिशत भू–भागमा हर्दिनाथ एक जातको धान लगाइने लामिछानेले बताए । अन्य भागमा चैते २, चैते ४, विआर ४४ लगाइन्छ । वर्षातमा थन्क्याउन कठिन हुने भए पनि उत्पादन पर्याप्त हुने भएपछि कृषक चैते धानतर्फ आकर्षित भएका हुन् ।

वर्षे धान एक हेक्टरमा तीन मेट्रिक टनको हाराहारीमा उत्पादन हुन्छ । चैते धान एक हेक्टरमा चार दशमलव पाँच मेट्रिक टन जति उत्पादन हुन्छ । साना कृषि सहकारी संस्था बछौलिका सदस्य रामहरी दाहाल उत्पादन पर्याप्त हुनेभएपछि चैते धानतर्फ किसानको आर्कषण बढेको बताउछन्।

‘हाल लगाइएका बीउ पुरानो भएकाले परिवर्तन गर्न सकिएमा उत्पादन थप बढाउन सकिन्छ,’ उनले भने । जिल्लामा २९ हजार दुई सय हेक्टरमा वर्षे धान लगाइन्छ । गतवर्ष ९७ हजार पाँच सय मेट्रिक टन वर्षे धान उत्पादन भएको थियो । वर्षे धान लगाउने क्षेत्र बढाउन नसकिने भए पनि सिँचाइको सुविधा पु¥याउन सकेमा चैते धान रोप्ने क्षेत्र बढाउन सकिने विज्ञहरु बताउँछन् ।

वर्षातमा थन्क्याउनु पर्दा काममा कठिन र मूल्य पाउन नसक्ने समस्या रहेको किसानको गुनासो छ । मुख्यरुपमा चैते धान चिउराका लागि प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस