फेरीको व्यापारदेखि सहकारीको अध्यक्षसम्म « प्रशासन

फेरीको व्यापारदेखि सहकारीको अध्यक्षसम्म


प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार १६:१०

भीमदत्तनगर । कञ्चनपुरको महाकाली नगरपालिका–७ का मानबहादुर ओलीको स्थानीय बाबाथान बजारमा फेन्सी पसल छ । बयालीस वर्षीय ओली फेन्सी पसलका सञ्चालक अर्थात् व्यापारमा मात्रै सीमित छैनन् ।

आर्थिक अवस्था कमजोर र पीडासँग संघर्ष गर्दैआएका ओली एक दशकयता महाकाली नगरपालिकामा सबल व्यापारीसँगै समाजसेवीका रुपमा परिचित छन्। कर्मप्रतिको विश्वास, लगनशीलता र इमान्दारिता देखाए सफलता हेर्न समय कुर्नु पर्दैन भन्ने उदाहरण बनेका छन् ओली ।

विसं २०५८ अघि दोधारा चादँनीमा गुमनाम ओली पछिल्लो समय समाजमा प्रतिष्ठित व्यक्तिका रुपमा चिनिनुहुन्छ । पुख्र्यौली घर सुर्खेत भएका ओलीले गरेकोको संघर्ष निकै सकसपूर्ण छ । विसं २०५९ मा आफूसित भएको केही जमीनमा सामान्य तरकारी फलाएर गुजारा गरेका ओली हाल शुक्लाफाँटा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षसमेत छन् ।

‘शुरुमा सामान्य तरकारी खेती गरेँ’, ओलीले भने, ‘त्यसपछि तीन वर्षसम्म साइकलमा फेरीको व्यापार गरेर परिवारको खर्च टारेँ ।’ उनी २०६१ सालसम्म भारतको सीमावर्ती खटिमा बजारबाट साइकलमा सामान ल्याएर महेन्द्रनगर बजार तथा गाउँ–गाउँ/टोल–टोलमा व्यापारका लागि पुगे ।

‘खटिमाबाट बच्चाका खेलौनादेखि कापी, किताबसम्म साइकलमा राखेर बेचेँ’, उनले भने, ‘सिमामा भारतले कडाइ गर्न थालेपछि त्यो काम पनि छाडे ।’

विसं २०६२ मा गरिबी निवारण कोषले आयमूलक कामका लागि तत्कालीन दोधारा चादँनीमा समूहमार्फत न्यून आयस्रोत भएका परिवारको आयस्तर उकास्न समूहमार्फत गाउँमा अनुदान रकम दिन थालेपछि उनी समुहमा आबद्ध भएका हुन् । गरिबी निवारण कोषले महाकाली–७ मा गठन गरेको जानकी सामुदायिक संस्थामा आबद्ध भएका ओलीले शुरुमा भैँसीपालनका लागि २० हजार ऋण लिए ।

‘त्यो बेला महाकाली नगरपालिकामा कोषले नौवटा समूह गठन गरेको थियो’, शुक्लाफाँटा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका ओलीले भने, ‘समूहमा लागेयता जीवनमा धेरै परिर्वतन भए ।’

भैँसीपालनबाट ७५ हजार मुनाफा भएपछि उनले पुनः ८० हजार ऋण लिएर बाबाथान बजारमा फेन्सी पसल सञ्चालन गरे । ‘सात वर्षदेखि फेन्सी पसल गरिरहेको छु, उनले भने, ‘पसलबाट घर खर्च चलाउनुका साथै केही सम्पत्तिसमेत जोडेँ ।’

गरिबी निवारण कोषले आयस्तर उकास्न समूह गठन गरेका महाकाली नगरपालिकाका १७ वटा सामुदायिक संस्था मिलेर २०६७ सालदेखि शुक्लाफाँटा सहकारी सञ्चालनमा ल्याएको हो । २७ लाख अनुदानबाट शुरु गरिएको सो सहकारीले अहिले ७५ लाखको कारोबार सम्हालेको अध्यक्ष ओलीले बताए ।

‘स्थापनाकालदेखि नै सहकारीको अध्यक्ष मै छुँ, उनले भने, ‘तीन पटक मलाई शेयर सदस्यले नेतृत्वदायी जिम्मेवारी दिए, कुनै बेला श्रीमतीको उपचारका लागि मैले नै गाउँमा ६० प्रतिशत ब्याजदर तिरेर १० हजार ऋण लिएको थिएँ’, विगत सम्झँदै ओलीले भने, ‘समूह हुँदै सहकारीमा सक्रिय हुँदा नाम, दाम सबै मिलेको छ ।’

उनले तीन कार्यकालयता ऋण वितरण गर्ने भूमि मिलेको बताए । आफूले व्यापारबाट कमाएको रकमले आठ लाखमा पक्की घर बनाउनाका साथै जेठो छोरा रमेशलाई कोरियन भाषा पढाउन काठमाडौँ पठाए । ‘अहिले छोरो कोरिया जाने तर्खरमा छ’, ओलीले भने, ‘पछिल्लो समय समाजमा विभिन्न खाले जिम्मेवारी बढ्दै गएको छ ।’

बाबाथान बजार व्यवस्थापन समितिको सचिवसमेत रहनुभएका ओलीले पाँच सय लागानीबाट फेरीको व्यापार थालेका हुन् । ‘अहिले केन्द्रीय सहकारी संघमा आफ्नो सम्पति धितो राखेर सहकारीका लागि १५ लाख ऋण लिएर लगानी गरेका छौँ ।’

ओलीले भने, ‘सहकारीको ६५ लाख विभिन्न आयमूलक कामका लागि सहकारीका सदस्यमा लगानी गरिएको छ ।’

शुक्लाफाँटा सहकारीका सचिव महेश नेपालीले समूह हुँदै सहकारीमा आबद्ध यहाँका स्थानीयवासीले आयमूलक व्यवसायमा लाग्नुका साथै बचतसमेत गर्ने गरेको बताए । ‘शुरुमा समूह हुँदा पाँच मासिक बचत गर्थें’, सचिव नेपालीले भने, ‘अहिले तिनै सदस्य २०० देखि एक हजारसम्म मासिक बचत गर्छन ।’

सहकारीमा सदस्य रहेकामाथि मात्रै ऋण लगानी गरिरहेको बताउँदै उनले सस्तो ब्याजदरमा ऋण लिएर आयमूलक काम र व्यवसाय गर्नेतर्फ जोड दिइएको बताए ।

‘गरिबी निवारण कोषकै अनुदानका कारण हामी समूह हुँदै सहकारीका रुपमा फस्टाउन सफल भयौँ’, उनले भने, ‘यसले धेरैको जीवनमा प्रत्यक्ष परिर्वतन ल्याएको छ ।’

सहकारीमा शुरुमा नौवटा समूह आबद्ध रहे पनि गत फागुन यता आठवटा समूह थपिएका छन् । ‘समूहबाट ऋण लिएर तरकारी खेती, स्वास्थ्य क्लिनिक सञ्चालन, फेन्सी तथा किराना पसल सञ्चालन गर्ने काम भएको छ’, नेपालीले भने, ‘दलित समुदाय यसमा बढी अग्रसर देखिएको छ ।’

एक ७५ जना शेयर सदस्य रहको उक्त सहकारीमा १ सय ४९ जना दलित समुदायका स्थानीयवासी आबद्ध छन् । ‘पहिले अनुदान दिँदा कोषले बिना ब्याज अनुदान दिएको थियो’, उनले भने, ‘हरेक समूहमा कोषले अनुदान दिएर आयस्तर बढाउन महत्वपूर्ण भुमिका निभाएको छ ।’

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), गरिबी निवारण कोषका कार्यक्रम संयोजक टेक बुढाले समूहमार्फत लगानी गर्दा दोधारा चादँनीका धेरै नागरिक प्रत्यक्ष लाभान्वित भएको बताए ।

गरिबी निवारण कोष गाउँ पसेपछि स्थानीयवासीमा बचत गर्ने बानीको विकास भएको छ’, संयोजक बुढाले भने, “अहिले सहकारीमार्फत विपन्न समुदायको आर्थिक अवस्थामा सुधार भएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस