नारायणगढ–मुग्लिन सडक २४ किलोमिटर कालोपत्रे « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नारायणगढ–मुग्लिन सडक २४ किलोमिटर कालोपत्रे


६ चैत्र २०७४, मंगलबार


चितवन । राजधानी काठमाडौंसँग तराई जोड्ने लाइफलाइनका रुपमा रहेको नारायणगढ–मुग्लिन सडक विस्तारको कामले तीव्रता पाएको छ । कामले तीव्रता पाएसँगै ३३.२ मध्ये २४.५ किलोमिटर सडक कालोपत्रे भएको छ । समग्र काम भने ८१ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो समय कामले तीव्रता पाएसँगै प्रगति बढ्दै गएको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार कालोपत्रेको पहिलो तह २४.५ किलोमिटर सम्पन्न भएको छ । दोस्रो तह २०.५ किलोमिटर र तेस्रो तहको कालोपत्रे शुरुवात् गरिएको छ । खनालका अनुसार सो सडक ३३.२ किलोमिटर लामो छ ।

आगामी वैशाख १५ सम्ममा पहिलो तह र जेठ १५ सम्ममा पहाड काट्न बाँकी रहेको चेपाङ डाँडाको फेदको ५०० मिटरबाहेक अन्य क्षेत्रमा कालोपत्रे सम्पन्न हुने उनले बताए ।

शुरुमा ५.५ मिटरमात्रै फराकिलो रहेको सडक आठ मिटरसम्म फराकिलो भए पनि नौ मिटर पुर्याउन धेरै भित्तो काट्नु पर्ने भएकाले समयमा सम्पन्न हुन कठिन देखिएको छ ।

आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मीले तेस्रो खण्डलाई ९९ दिन, दोस्रो खण्डलाई ८९ दिन र पहिलो खण्डलाई ८५ दिन मिति थप्न उपयुक्त भएको भन्दै प्रस्ताव गरिएको बताए । पहिलो खण्डका लागि १० मे २०१८, दोस्रो खण्डका लागि २० मे २०१८ र तेस्रो खण्डका लागि ३० मे २०१८ सम्मको समय थप गर्न सिफारिस गरिएको हो ।

सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको थियो । विसं २०७४ शुरु भएयताको दुई पटकको निर्वाचन, वर्षात्को समय, चाडपर्वको समय र थपिएको कामका कारण काम गर्ने समय थप्न सिफारिस गरिएको हो । मिति थप गर्न सिफरिस भए पनि हालसम्म मिति भने थपिएको छैन । रासस

प्रतिक्रिया दिनुहोस