कांग्रेस कोषाध्यक्षको राष्ट्रिय सम्मेलन : गुट अन्त्य गराउन केन्द्रित « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कांग्रेस कोषाध्यक्षको राष्ट्रिय सम्मेलन : गुट अन्त्य गराउन केन्द्रित


५ चैत्र २०७४, सोमबार


नुवाकोट । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलनको तयारी तीव्र बनाइएको छ ।

सम्मेलन यही चैत ७ गतेदेखि ९ गतेसम्म नुवाकोट र रसुवामा संयुक्तरुपमा हुन लागेको हो । सम्मेलनको आवश्यक तयारी पूरा भएकाले केही आन्तरिक व्यवस्थापनको काम मात्र बाँकी रहेको कांग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय कार्यसमितिका संयोजक एवं काठमाडौं कोषाध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिए ।

उनको अनुसार कांग्रेस जिल्ला कार्यसमिति नुवाकोट र कोषाध्यक्षको राष्ट्रिय कार्यसमितिका पदाधिकारीको संयुक्त बैठकले भेला तयारीको लागी विभिन्न समिति गठन तथा कार्य जिम्मेवारी प्रदान गरी तयारी तीव्र बनाइएको छ ।

काँग्रेस जिल्लाका कोषलाई पारदर्शी, समृद्धि, सुदृढ र जवाफदेही बनाउन भेला केन्द्रित हुने पुडासैनीले बताए । ‘पछिल्ला निर्वाचनले पार्टी कमजोर भइरहेको समयमा हुन लागेको भेलाले बलियो बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।’

सम्मेलनअन्तर्गत काँग्रेस नुवाकोटको पार्टी कार्यालय विदुरमा चैत ७ गते पार्टीको केन्द्रीय नेता सम्मिलित उद्घाटन समारोह र ८ गते बन्दसत्रसहित प्रशिक्षण तथा ९ गते रसुवाको स्याफ्रुबेँसीमा भेलाको समीक्षा बैठकसहित पत्रकार सम्मेलन हुने रसुवा कोषाध्यक्ष पदम न्यौपानेले बताए ।

सम्मेलनमार्फत वर्तमान सन्दर्भमा कांग्रेसको कमजोर अवस्था र कार्यकर्तामा छाएको निरासाको समीक्षा हुने तनहुँ कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिए । ‘उद्घाटन समारोहमा एकै स्थानमा भेला हुने शीर्ष नेताले पार्टी एक भएको सन्देश दिन्छ ।’

सम्मेलन तयारीको लागि नुवाकोट र रसुवा पार्टी कार्यसमिति परिचालन भइरहेको नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीले बताए । रासस

प्रतिक्रिया दिनुहोस