कर्मचारीमाथिको हस्तक्षेप सह्य हुँदैन : सभापति देउवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्मचारीमाथिको हस्तक्षेप सह्य हुँदैन : सभापति देउवा


४ चैत्र २०७४, आइतबार


चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि बहानामा कर्मचारीमाथिको हस्तक्षेप कांग्रेसलाई सह्य नहुने बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन (संघ)को सातौं महाधिवेशनको आइतबार चितवनमा उद्घाटन गर्दै सभापति देउवाले नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी, न्यायपालिकालगायत क्षेत्र स्वतन्त्र हुनुपर्ने बताए ।

देउवाले कम्युनिष्टहरु लोकतन्त्रलाई खतरामा पार्ने खेलमा लागेकाले सबै सचेत हुनु पर्ने बेला आएको बताए । देउवाले कम्युनिष्टहरुले प्रजातान्त्रीक प्रणालिलाई स्वीकार गर्ने क्षमता राख्न नसक्ने दावी गरे ।

वर्तमान सरकारले राज्यका विभिन्न ठाउँमा हस्तक्षेपकारी भूमिका लाद्न खोजिरहेको देउवाको आरोप छ । देउवाले सरकारले सर्वसत्तावादको छनक देखाइरहेको बताउँदै यसबाट बच्नका लागि र लोकतन्त्रलाई बलियो बनाउनका लागि सबै कर्मचारीहरु पनि सजक हुनुपर्ने बेला आएको बताए ।

उनले अबको पाँच वर्ष पछि नेपाली कांग्रेस देशको पहिलो पार्टी हुने दावी गरे । ‘अहिले कांग्रेस पार्टी सुदृढिकरणमा लागेको छ’ देउवाले भने, ‘ढुक्क हुनुहोस् पाँच वर्ष पछि कांग्रेस नै पहिलो पार्टी हो ।’

कार्यक्रमलाई सम्बोधन गर्दै काँंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार स्वेच्छाचारी र सर्वसत्तावादतर्फ जान खोजेको भन्दै अहिले खोजिएको दुई तिहाईभित्र रहस्य लुकेको बताए । स्पष्ट बहुमत हुँदाहुँदै दुईतिहाईको सौदावाजी चलिरहेको भन्दै उनले यसअघि संविधान संशोधन गर्नै हुन्न भन्ने कम्युनिष्ट किन अहिले जे गरेर पनि दुईतिहाई खोजिरहेका छन् ? भन्ने प्रश्न गर्नुभयो ।

विपी कोइराला, गणेशमान सिंह, सूवर्ण शमशेरलगायत नेताले गर्न नसकेको काम पछिल्लो समय कांग्रेसले गरेर देखाएको नेता पौडेलको भनाइ थियो । ‘पञ्च र राजा फालेर संविधान निर्माण गरी कार्यान्वयनको चरणसम्म ल्याउने काम कांग्रेसका पछिल्लो समयका नेताले गरेका हुन्,’ उनले भने ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले प्रधानन्यायाधीशको बर्खास्ती नियम विपरीत भएको भन्दै सरकारको आलोचना गरे । उनले सरकारका काम हेरेर समर्थन र विरोध गर्ने भन्दै प्रतिपक्षमा बसेर महत्वपूर्ण भूमिका पार्टीले निर्वाह गर्ने बताए ।

कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले वाम सरकारसँग नडराउन आग्रह गर्दै आफ्नो काम र कर्तव्यमा दृढ भएर लाग्न कर्मचारीलाई आग्रह गरिन् ।

कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकारकाभन्दा बलियो संविधान भएकाले ९४ प्रतिशत जनताले बनाएको संविधान दुई तिहाई बहुमतबाट तलमाथि गर्ने अधिकार सरकारलाई नभएको बताए ।

कांग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधि र कृष्ण सिटौलाले सरकारको मनोमानी कांग्रेसलाई मान्य नहुने भन्दै संगठन सुदृढ गर्नेतर्फ सबै लाग्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले नेपाली कांग्रेस देशकै पुरानो पार्टी भएको र सधै मुलुकलाई अप्ठ्यारो कालखण्डमा बचाउने गरेको कुरा स्मरण गर्दै पाँच वर्ष पछि देशले बाम गठबन्धनको खाचो नरहेको कुरा प्रस्ट पार्ने बताए ।

उक्त अवसरमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, नेता एनपी साउद, गगन थापा, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलनाथ दाहाल, नेविसंघका अध्यक्ष नैनसिंह महरलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस