नाजुक अवस्थामा पुरानो बसपार्क « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नाजुक अवस्थामा पुरानो बसपार्क


३० फाल्गुन २०७४, बुधबार


काठमाडौं । उपत्यकाका सबै स्थान र बाहिरका केही जिल्लामा आवतजावत गर्ने सार्वजनिक सवारी साधन राख्न व्यवस्था गरिएको पुरानो बसपार्कको अवस्था अझै नाजुक छ ।

हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने गरेको राजधानी शहरको बसपार्क छिर्न नै समस्या हुने गरेको सम्बद्ध यात्रुको गुनासो छ । साविकको बसपार्कमा काठमाडौँ महानगरपालिकाले भ्यू टावर निर्माण शुरु गरेपछि खुलामञ्चको उत्तरी भागमा बसपार्क सारिएको थियो ।

सो बसपार्क निर्माण भएको एक वर्ष पनि नपुग्दै त्यहाँको कालोपत्र उप्किएको छ । नेपाल विद्युत् प्राधिकरण अगाडिको क्षेत्रमा पानीको दह जमेर बसपार्क छिर्न नसकिने अवस्था रहेको यात्रु समिना तामाङले गुनासो गरिन् । आइतबार बेलुकी पानी परेपछि बसपार्कमा दह जम्दा पनि यसको व्यवस्थापनमा सरोकारवाला निकायको ध्यान जान सकेको छैन ।‘बसपार्कमा दह जमेकाले छिर्दा सवारी साधनले हिलो र पानी छ्याप्ने गर्छन् र यात्रुले सवारी साधन कुर्ने खुड्किला नबनाइदिँदा आफूहरुलाई ठक्कर दिन्छ की भन्ने डर सधै भइरहन्छ’, उनले भनिन् ।

वीरअस्पतालपट्टिको भागबाट निजी सवारी साधनले बसपार्कलाई सडकका रुपमा प्रयोग गर्दा पनि यात्रुले बस कुरेका बखत किच्छ कि भन्ने डर हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले निजी सवारी साधनलाई रत्नपार्कबाट नघुमाउँदा किच्ने त्रासमा सधै सवारी कुर्नु परेको यात्रु केशव भण्डारीले बताए ।

‘महानगरले बसपार्क बनाउँदा यात्रुले कुर्ने सिँढी बनाइएन, यसैले सडकमै सवारी साधन कुर्नुपर्छ, बेलुकी बसपार्कमा बत्तीको व्यवस्था पनि गरिएको छैन, यसले गर्दा कतिखेर सवारी साधनले यात्रुलाई हान्छ भन्न सकिँदैन’, उनले भने ।

महानगरले बसपार्क छिर्ने सवारी साधनसँग पैसा असुल्ने तर यात्रुका लागि कुर्ने ठाउँ र बत्तीको व्यवस्था नगर्दा बेलुकीपख झन समस्या भोग्नु परेको यात्रुको गुनासो छ । महानगरका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की बसपार्कमा बनेको दहको व्यवस्थापन गर्न भौतिक पूर्वाधार विकास विभागलाई निर्देशन दिइसकिएको बताए ।

‘बसपार्क बनाउने निर्माण व्यवसायीले त्यहाँ छिर्ने सवारी साधनसँग पैसा उठाउन नपाएपछि मर्मत सम्भार नगर्दा समस्या आएको हो, अब केही दिनमै समाधान हुन्छ’, उनले भने ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले महानगरपालिकाले बनाएको नियमअनुसार बसपार्कमा सवारी व्यवस्थापन गरेको बताए । बसपार्कमा निजी सवारी साधन नछिराउनका लागि महानगरले निर्देशन दिनुपर्ने उनको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस