बाँच्छु भन्ने सोचेकी थिइनँ : सहरिन अहमद « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बाँच्छु भन्ने सोचेकी थिइनँ : सहरिन अहमद


२९ फाल्गुन २०७४, मंगलबार


काठमाडौं । मेरो नाम सहरिन अहमद । म बंगलादेशकी नागरिक हुँ । म २९ वर्षकी भएँ । नेपाल घुम्ने रहर सानैदेखि थियो । सोमबार १२ः३० बजे म एकजना साथीसँग ढाका विमानस्थलबाट काठमाडौंका लागि उडें । हाम्रो योजना काठमाडौं र पोखरा घुम्ने थियो।

काठमाडौं विमानस्थलमा २ः३० बजेतिर जहाज ल्यान्ड गर्ने तयारीमा थियो । पहिलोपटक ल्यान्ड गर्न नसकेको महसुस गरें । दोस्रोपटकमा ल्यान्ड भयो । ल्यान्ड गर्नुअघि जहाजको पखेटा केही कोल्टे परेको जस्तो महसुस भयो।

दुर्घटनाबारे पाइलटले केही जानकारी दिएका थिएनन् । अचानक सबै कुरा भयो । जहाजमा आगो लाग्यो । धुवाँको मुस्लो भित्र छिर्यो। जहाजभित्र ‘अल्लाहा अल्लाहा’ को आवाज आयो, म होसमै थिएँ । सबैजना आत्तिएका थिए । मेरो सिट जहाजको इन्जिन भएको ठाउँतिर थियो । इन्जिनको अर्को साइडबाट आगो लागेको महसुस भयो।

धुवाँको मुस्लोबाट बच्न मेले अनुहार छोपें । करिब २० मिनेटजति आत्तिएर बसें । अचानक जहाजको केही भाग खुलेको महसुस भयो । ताजा हावा भित्र छिर्यो । त्यसपछि जीवन जोगिएको जस्तो लाग्यो । उद्धारकर्मीले हात समातेर ओराले । ओर्लने क्रममा मैले केही शरीरलाई नाघ्नुपर्यो । कसैको हात चलिरहको थियो । कोही सानो स्वरमा बोल्दै थिएँ। म रोइरहें।

म अहिले अस्पतालमा उपचार गराइरहेकी छु । दाहिने खुट्टामा हल्का पोलेको छ । हातमा केही घाउ छ । मन आत्तिएको छ । घरमा आमा र भाइ हुनुहुन्छ । भाइसँग टेलिफोनमा कुरा गरें । आमाको याद आइरहेको छ । यात्रा सफल भएको भए शुक्रबार घर फर्कने योजना थियो । मेरो साथीको अवस्था थाहा छैन । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस