विमानस्थलभित्रै भयानक दुर्घटना : हेर्दाहेर्दै जहाज यसरी भयो खरानी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विमानस्थलभित्रै भयानक दुर्घटना : हेर्दाहेर्दै जहाज यसरी भयो खरानी


२९ फाल्गुन २०७४, मंगलबार


Bangla Air

काठमाडौं । त्रिभुवन विमानस्थलभित्र नेपाली हवाई इतिहासकै सबैभन्दा ठूलो हवाई दुर्घटना भएको छ । बंगलादेश नागरिक उड्डयन प्राधिकरणको नियमनभित्र पर्ने युएस–बंगला एयरलाइन्सको ‘बम्बाडिएर (डिएच८डी)’ जहाज दुर्घटना हुँदा ४९ जनाको निधन भएको छ । चालक दलका चार सदस्यसहित ७१ यात्रु सवार विमान दुर्घटनामा २२ घाइते भएका छन् । यसअघि विमानस्थलभित्र साना–ठूला हवाई दुर्घटना भए पनि यति ठूलो संख्यामा मानिसले पहिलोपटक ज्यान गुमाएको विमानस्थलका महाप्रबन्धक राजेन्द्रकुमार क्षेत्रीले जानकारी दिए ।

यसअघि विमानस्थलभित्रै २० फागुन २०७१ मा टर्किस एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । उक्त दुर्घटनामा कसैले पनि ज्यान गुमाउनुपरेको थिए । विमानस्थल आसपासमा चरा ठोक्किएर या अन्य कारणले फोर्स ल्यान्डिङ हुने गरे पनि इतिहासमै पहिलोपटक विमानस्थलभित्र धेरै मानिसले ज्यान गुमाएका हुन् । हवाई विज्ञ वीरेन्द्रबहादुर सिंहका अनुसार सन् १९९० यता विमानस्थलभित्र नेपाल एयरलाइन्सको एक ट्विनअटर जहाज दुर्घटना हुँदा पाइलटले ज्यान गुमाउनुबाहेक यात्रुले पहिलोपटक ज्यान गुमाउनुपरेको हो ।

बंगलादेशको आश्वासन

बंगलादेशको नागरिक उड्डयन प्राधिकरणले दुर्घटना जाँचका क्रममा सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । उक्त मुलुकको दुर्घटना जाँच ब्युरोले आफ्नो मुलुकको जहाज दुर्घटनापछि कारण पत्ता लगाउन सबै प्रकारको सहयोगको वचन दिएको महानिर्देशक गौतमले जानकारी दिए ।

२ घन्टा विमानस्थल अवरुद्ध

जहाज दुर्घटनापछि सोमबार करिब दुई घन्टा अन्तर्राष्ट्रिय विमानस्थल बन्द रह्यो । यसबीचमा नेपाली सेना, नेपाल प्रहरी तथा विमानस्थलस्थित उद्धार टोली उद्धारमा खटिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली, मुख्यसचिव लोकदर्शन रेग्मीसहित उच्च सरकारी अधिकारी दुर्घटनास्थल पुगेर निरीक्षण गरेका थिए ।

छानबिन गर्न समिति गठन

सरकारले युएस बंगला एयरको विमान दुर्घटनाबारे छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको नेतृत्वमा आयोग गठन गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले गौतमको संयोजकत्वमा ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।

आयोगमा प्रमुख सेनानी डा. राजीव देव, क्याप्टेन केके शर्मा, क्याप्टेन सुनील प्रधान, उद्धवप्रसाद सुवेदी सदस्य छन् भने सहसचिव बुद्धिसागर लामिछानेलाई सदस्यसचिव तोकिएको छ ।

आयोगलाई यथाशीघ्र छानबिन गरी प्रतिवेदन बुझाउने कार्यादेश दिइएको जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

किन बचाउन सकिएन धेरै यात्रु ?

विमानस्थलभित्रै भएको दुर्घटनामा पनि धेरै यात्रुले ज्यान गुमाए । सामान्यतया विमानस्थलभित्र आकस्मिक अवस्थामा उद्धारका लागि सबै उपकरण र जनशक्ति तयारी अवस्थामा हुन्छन् । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार चालकले इमर्जेन्सी घोषणा नगरेका कारण ‘ग्राउन्ड’मा रहेका दमकल र एम्बुलेन्सलाई तत्काल परिचालन गर्न सकिएन । जहाज दुर्घटनास्थलनजिकै नेपाली सेनाको उद्धार टोली रहेकाले दमकलले दुर्घटनालगत्तै आगो निभाउन थाले पनि एम्बुलेन्स भने करिब १० मिनेटपछि पुगेका थिए ।

जसले युएस बंगला ल्याए, उनैको ज्यान गयो

दुई वर्षअघि नेपालमा युएस–बंगला एयरलाइन्सको उडान सुरु गराउँदा शंकर पौडेल निकै उत्साही थिए । बंगलादेश हुँदै नेपाललाई अमेरिकासम्मको हवाई रुटमा जोड्न पाएकोमा उनी गर्व गर्थे । पौडेलको नमस्ते ट्राभल कम्पनी नै युएस–बंगला एयरलाइन्सको जनरल सेल्स एजेन्ट (जिएसए) थियो । तर, नेपालमा युएस–बंगला भित्राउने पौडेलले सोही जहाज दुर्घटनामा परी ज्यान गुमाउनुपर्‍यो । ‘जसले युएस–बंगला नेपालमा ल्याए, उनै सोही विमान दुर्घटनामा बिते,’ नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा पौडेलका साथी भरतराज आचार्यले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस