जनताको घरदैलोमै सरकार पुग्यो, अब विकासमा लाग्नुस् : पूर्वप्रधानमन्त्री चन्द « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जनताको घरदैलोमै सरकार पुग्यो, अब विकासमा लाग्नुस् : पूर्वप्रधानमन्त्री चन्द


२८ फाल्गुन २०७४, सोमबार


भक्तपुर । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले जनताको घरदैलोमै सरकार पुगेकाले अब जनताले विकास माग्दै केन्द्रीय राजधानी धाउनु पर्ने अवस्थाको अन्त्य भएको बताएका छन् ।

मध्यपुरथिमिको होली गार्डेन इङ्लिस सेकेण्डरी स्कूलको ३५औँ वार्षिकोत्सवमा आज बोल्दै उनले भने, ‘अब जनताको घरदैलोमा सरकार पुगेको छ, विकास पनि पहिलाको तुलनामा बढेको छ, अब जनताले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर विकासलाई तीव्रता दिनुपर्छ ।’

पूर्वप्रधानमन्त्री चन्दले पुरानो ढर्राको शिक्षा अब काम नलाग्ने बताउँदै विदेशमा प्रतिष्पर्धा गर्न सक्ने र स्वदेशमै पनि आफैँले केही गर्न सक्ने शिक्षा अहिलेको आवश्यकता भएको बताए । किताबी ज्ञानले मात्रै अबको शिक्षा अगाडि नबढ्नेमा जोड दिँदै उनले संस्कृत, चरित्र निर्माण, इमान्दारिताको पाठ पनि विद्यार्थीले स्कूलबाटै सिक्नु पर्नेमा जोड दिए ।

सो अवसरमा प्याब्सन भक्तपुरका अध्यक्ष श्रीकृष्ण केसीले सरकारले निजी विद्यालय बन्द गराउनेभन्दा पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरगोविन्द शंखदेव, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मी, प्रिन्सिपल रत्नमान शंखदेवलगायतले निजी विद्यालयले शैक्षिक गुणस्तरलाई धानिरहेको चर्चा गरे । कार्यक्रममा विद्यार्थीलाई पुरस्कार एवं सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस