नेपालको सन्दर्भमा साझा रोगको रुपमा चिनिने ग्याष्टिकबारे अनविज्ञ व्यक्ति सायदै होलान्, तर सुन्दा जति सामान्य लाग्छ यदि समयमै उपचार भएन भने यसले निम्त्याउन सक्ने अवस्था त्यति नै डरलाग्दो छ । सामान्य पेट दुख्नेबाट शुरु भइ क्यान्सरै हुनसक्ने सम्मको अवस्थासम्म पुर्याउने ग्याष्टिकबारे बयोधा अस्पतालका ग्याष्टिक रोग विशेषज्ञ डा. रविन शर्मासंग प्रशासन डटकमका एस राज उपाध्यायले गरेको कुराकानी ।
अधिकांस मानिसहरु ग्याष्टिक रोगबाट पिडित देखिन्छन् खासमा के हो ग्याष्टिक ?
ग्याष्टिक भनेको पेट र पेट वरिपरिको अंगहरुबाट उत्पन्न भएको लक्षण हो । मेडिकलको भाषामा ग्यास्ट्राइटिस भनेर चिनिने यस रोगलाई सामान्य बोलीचालीको भाषामा ग्याष्टिक भनिन्छ । मुख्यतयाः माथिल्लो पेट दुख्नु, खाना खाएपछि पेट डम्म हुनु, उल्टी आउँला जस्तो हुनु लगाएत लक्षणहरु देखा पर्यो भने ग्याष्टिक भएको बुझ्न सकिन्छ । तर, यसका धेरै लक्षणहरु हुन्छन् ।
कसरी हुन्छ अर्थात् के कारण हुन्छ ग्याष्टिक ?
हाम्रो पेटमा खाना पचाउने बिभिन्न प्रकारका पाचन रसहरु हुन्छन् । हामी जे खान्छौं त्यसलाई पाचन रसहरुले पचाउने काम गर्दछन् । कुनै कारणबस पेटमा भएको एसिड धेरै नै भइदिन्छ । जस्तोः खानामा तलमाथी (व्यालेन्स) मिलेन, खानामा (चिल्लो, पिरो, नुनिलो) धेरै भयो, अत्याधिक मादक पदार्थ तथा चुरोटको सेवन लगाएत दुखाइको औषधी तथा अन्य औषधीहरुले पनि पेटमा एसिड बढाइदिन्छ ।
अर्को हाम्रो पेटमा एउटा ब्याक्टेरिया हुन्छ, जसलाई हेलिकोव्याक्टर पाइलोरी भनिन्छ । त्यो ब्याक्टेरिया बलियो भएर पनि पेटमा एसिड बढाइदिन्छ । यी कारणले पेटमा एसिड बढेर ग्याष्टिक हुन्छ ।
कस्ता कस्ता लक्षण देखियो भने ग्याष्टिक भएको मान्न सकिन्छ ?
सर्वप्रथम त पेट दुख्नु एउटा मुख्य लक्षण हो । यदि माथिल्लो पेट दुख्छ भने ग्याष्टिक भएको हुनसक्ने निकै धेरै सम्भावना हुन्छ यद्यपी अन्य कारणले पनि दुखेको हुनसक्छ । जुन जाँच गरेर मात्रै भन्न सकिन्छ । कसैलाई खाना खाएपछि दुख्छ । कसैलाई भोको पेटमा दुख्छ । खाना खाएपछि पेट डुम्म हुनु, अमन हुनु, उल्टी आउँला जस्तो हुनु तथा उल्टी नै हुनु, यी सबै ग्याष्टिकका साझा लक्षणहरु हुन् ।
ग्याष्टिक रोगबाट हुन सक्ने हानी अर्थात असरहरु के के हुन् ?
ग्याष्टिकका साधारण लक्षणहरु हुन्छन् तर यदी ग्याष्टिक बल्झियो भने त्यो भयङकर रुप पनि लिन सक्छ । जस्तोः ग्याष्टिकबाट अल्सर भयो भने त्यो फुटेर उल्टीबाट रगत आउँछ र त्यही रगत तल भएर दिसा कालो हुन्छ । यदी लामो समयसम्म ग्याष्टिक भयो भने अल्सर फुट्न पनि सक्छ र आन्द्रा छेडिन पनि सक्छ । पेट सड्न पनि सक्छ । अन्त्यमा गएर त्यो क्यान्सरमा परिणत हुने सम्भावना हुन्छ ।
ग्याष्टिक हुन नदिने तथा यसबाट बच्ने उपायहरु के हुन् ?
मुख्यतयाः खानपानबाट नै ग्याष्टिक उत्पन्न हुन्छ । त्यसपछि तनावका कारण पनि ग्याष्टिक हुन्छ । त्यसैले खानपान र तनावलाई कसरी म्यानेज गर्ने भन्ने कुरामा ध्यान दिन जरुरी छ । खानामा अमिलो, पिरो, चिल्लो, नुनिलो कम हुनुपर्छ । समयमै अनुशासित भएर खानु पर्छ । कुनै निश्चित समय बनाएर खाने गर्नुपर्छ ।
धेरै भोको पेट बस्नु हुँदैन । यदि पेटको समस्या छ भने धेरै वर्त पनि बस्नु हुँदैन । सबैभन्दा महत्वपूर्ण कुरा पानी प्रयाप्त मात्रामा पिउनु पर्छ । यदि तपाइले यो जीवनशैली अपनाउनु भयो भने ग्याष्टिक हुने सम्भावना निकै न्यून रहन्छ । तर ग्याष्टिक हुँदै हुँदैन भनेको होइन । यदि कसै कसैको पेटमा नै हेलिकोव्याक्टर पाइलोरी ब्याक्टेरिया छ भने खानामा जति अनुशासन राखेपनि ब्याक्टेरियाले घाउ गराएरै छोड्छ । तर, ब्याक्टेरियावाहेक अनुशासित जिवनशैली अपनाउनु भयो भने ग्याष्टिक धेरै हदसम्म कम हुन्छ ।
ब्याक्टेरियाको कुरा गर्नु भयो । मानिसको पेटमा हेलिकोव्याक्टर पाइलोरी ब्याक्टेरिया कसरी उत्पन्न हुन्छ ?
हेलिकोव्याक्टर पाइलोरी भन्ने ब्याक्टेरिया सन् १९८० मा अस्ट्रेलियामा पत्ता लागेको ब्याक्टेरिया हो । हुन त यो धेरै अगाडी देखि नै मानिसको पेटमा रही आएको छ । यो ब्याक्टेरिया अहिले धेरै जस्तो गरिब राष्ट्रहरुमा छ । धनी समृद्ध राष्ट्रहरुमा अलि कम मात्रामा छ । यो पानीबाट सर्ने पेटमै लामो समयसम्म बाँच्ने क्षमता भएको व्याक्टेरिया हो ।
पेटको एसिडलाई पनि सहन सक्ने बलियो खालको यो ब्याक्टेरिया अधिकांश नेपाल र भारतको जनसंख्यामा छ । कुनै कुनै व्यक्तिमा यो ब्याक्टेरिया बलियो भइदिएर मान्छेको पेट कमजोर भएको बेलामा यसले आफ्नो समस्याहरु देखाउँछ । यसले एसिड बढाइदिने, अल्सरहरु बढाइदिने र क्यान्सर पनि गराउने क्षमता राख्दछ ।
यो व्याक्टेरियालाई कसरी निर्मुल गर्ने त ?
पहिलो कुरा त यो ब्याक्टेरिया छ की छैन भनेर जाँच गर्नुपर्छ । जाँच गर्ने पद्धतिहरु धेरै छन् । जस्तैः रगत र दिसाबाट जाँच गर्छौं । रगत भन्दा पनि दिसाबाट गरिने जाँचलाई बढी प्राथमिकता दिइन्छ । दिशाबाट मोर एक्युरेट हुन्छ ।
डेटिकेटेड मेसिनबाट फुकेर पनि यो ब्याक्टेरिया छ की छैन भन्ने पत्ता लगाउन सकिन्छ । इन्डोस्कोपी गरेर पत्ता लगाउनु सबैभन्दा बेस्ट तरिका हो । इन्डोस्कोपीबाट मासु जाँच गर्छौं र पोजेटिभ आयो भने ब्याक्टेरिया पत्ता लगाउने त्यही नै उत्तम जाँच हुन्छ । ब्याक्टेरिया पत्ता लागि सकेपछि त्यसको उपचार भनेको एन्टिबायोटिक्स नै हो । जसमा हामी दुइ हप्तासम्म दुईटा औषधी बिहान बेलुका दिन्छौं ।
बिहान बेलुका ग्याष्टिकको औषधि दिन्छौं । त्यसपछि छ हप्तासम्म दिनको एकपल्ट ग्याष्ट्रिकको औषधि मात्रै खुवाएर राखिन्छ । यो औषधिले धेरैजसो किरा मार्ने क्षमता राख्दछ । तर एक बर्षपछि फेरी समस्या बल्झियो भने दोस्रो चरणको उपचार हुन्छ । त्यसमा पनि त्यही अनुशार एन्टिवायोटिक खुवाएर ब्याक्टेरिया निर्मुल गरिन्छ ।
खानपान नमिल्दा पेटमा समस्या उत्पन्न भइ ग्याष्टिक हुने कुरा त ठिकै हो तर तनाव पनि ग्याष्टिकको मुख्य कारण हो भन्नुभयो, तनाव र पेटको सम्बन्धबारे बताइदिनुहोस् न ?
तनाव र पेटकै सम्वन्ध धेरै छ । ओभरअल रुपमा पाचन प्रणालीको सबै भागहरु पेटमा नै हुन्छन् र अन्य अंगहरुको तुलनामा तनाव अर्थात स्ट्रेटले पाचन प्रणालीमा धेरै असर गर्छ । उदाहरणको रुपमा भन्नुपर्दा तनाव हुँदा कसैको टाउको दुख्छ भने कसै कसैको पेट दुख्छ । पेटमा पाचन रसहरु बन्नका लागि धेरै नशाहरुले काम गरिरहेका हुन्छन् र तनाव हुँदा नसाहरु उत्तेजित हुन जान्छन् र रसायन उत्पादनमा प्रत्यक्ष असर पर्छ । जसको कारण ग्याँस उत्पन्न भइ ग्याष्टिकको समस्या हुन जान्छ ।
खासगरी शहरीया जीबनशैली, जहाँ जति सजकता अपनाउँदा पनि अर्कै व्यक्तिको कारणले पनि तनाव झेल्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा कसरी तनाबबाट मुक्त रहन सकिन्छ ?
पेटको समस्या लिएर आउने धेरैजसो बिरामीहरुमा जाँच्दा ७० प्रतिशतकमा कुनै पनि समस्या देखिँदैन । इन्डोस्कोपी गर्दा समेत केही देखिँदैन । तर पेट दुखिरहेको हुन्छ । आन्द्रा दुखिरहेको हुन्छ । जतिसुकै जाँच गरेपनि केही देखिँदैन तर दुखाइ भइरहेको हुन्छ भने त्यसको मुख्य कारण नै तनाव हो । तनावले पाचन प्रणालीमा धेरै असर गर्छ ।
सामान्यतयाः तनाव सबैको जीवनमा हुन्छ । तनाव विनाको जिन्दगी नै हुँदैन भन्दा पनि हुन्छ तर तनावलाई कसरी लिने अर्थात त्यसलाई कसरी ह्यान्डल गर्ने भन्ने कुरामा भर पर्छ ।
तनाव व्यवस्थापन एउटा ठूलो कला पनि हो । त्यो कला तपाइले जति चाडो सिक्नु भयो त्यति नै फाइदा हुन्छ । यस्तो रोगलाई फङ्सनल जिआइडिसअडर्स अर्थात तनावसँग सम्वन्धित पाचन प्रणालीको रोग भनिन्छ । यसमा पेट मुख्य हो ।
तनाव कम गर्नमा योगा, स्ट्रेस रिलिजिङ एक्सरसाइजेजको धेरै महत्वपूर्ण भूमिका हुन्छ । धेरैजसनो यस्ता बिरामीहरु आउँछन् जो वर्षौसम्म ग्याष्टिकको औषधि खाइरहेका हुन्छन् । दर्जनौं पटक इन्डोस्कोपी पनि गरिसकेका हुन्छन् । सबै ठीकठाक देखाउँछ तर पेट दुखी नै रहेको हुन्छ । यस्तो बिरामीमा देखिएको मुख्य कमी भनेकै तनावको व्यवस्थापन गर्न नसक्नु रहेको हुन्छ । त्यसैले औषधिको मात्रै भर पर्नुभन्दा तनाव हुन नदिने उपाय अपनाउनु नै ग्याष्टिक निर्मुलीकरणको अचुक उपाय हो ।
समयमै उपचार नहुँदा अल्सर तथा क्यान्सरसम्म हुनसक्ने कुरा उल्लेख गर्नुभयो, यो अवस्था कसरी आउँछ ?
अन्य कारण छोडेर यदि ब्याक्टेरियालाई मात्र ध्यान दिने हो भने धेरै हदसम्म बच्न सकिन्छ । यो यति महत्वपूर्ण ब्याक्टेरिया हो कि यो पहिलो पटक पत्ता लगाउने व्यक्तिले नोवेल पुरस्कार नै दिइएको छ ।
धेरैजसोमा यसबारे जानकारी छैन । यो पेटमा हुन्छ । यसले पेटमा हुने एसिडलाई समेत सहेर पेट कमजोर भएको अवस्थामा बलियो भइ एसिड बढाउने काम गर्दछ । पेटमा एसिड बढ्दै गएपछि आन्द्रामा अल्सर गराउने क्षमता पनि यस ब्याक्टेरियाले राख्दछ । अनुसन्धानबाट यो ब्याक्टेरियाले अल्सर मात्र नभइ क्यान्सर समेत गराउन सक्ने देखाएको छ । करीब ४० देखि ४५ प्रतिशत बिरामीमा यही किटाणुका कारण क्यान्सर भएको देखिएको छ । त्यसैले यदी ग्याष्टिक लगाएत लामो समयदेखि पेटको समस्या छ भने समयमै जाँच गराएर यो ब्याक्टेरिया छ कि छैन पत्ता लगाई उपचार गराउन जरुरी छ ।
सामान्यतयाः पेटमा यो ब्याक्टेरिया भए/नभएको कसरी थाहा पाउने ?
जसको पेटमा कुनै समस्या नै छैन उहाँहरुले त जाँच गर्नु परेन तर जसलाई ग्याष्टिक भइराख्ने समस्या छ त्यस्ता ब्यक्तिहरुले जाँच गराउन जरुरी छ । माथि नै भनेजस्तै विभिन्न बिधिबाट यो ब्याक्टेरिया छ कि छैन भनेर पत्ता लगाएर त्यही अनुशार उपचार गरिन्छ ।
अधिकाँस नेपालीको साझा रोग जस्तै बनेको ग्याष्टिकबाट बच्न यहाँको सुझाव के छ ?
धेरै जनालाई हुने भएकोले यसलाई सामान्य रोग जस्तै लिइन्छ । ओपीडीमा आउने धेरै जसो बिरामीमा ग्यासकै कारण समस्या भइरहेको देखिन्छ । तर यसबारे समयमै सजग हुन सकिएन भने यसले साधारण पेट दुख्ने र सुनिने देखि लिएर पेटको क्यान्सरसम्मको भयावह रोग निम्त्याउँछ ।
ग्याष्टिकको समस्यालाई लामो समयसम्म बल्झाइराख्नु राम्रो होइन । पेटभित्र किटाणु छ की छैन ? भनेर पत्ता लगाइ समयमै उपचार गराइएन भने रोग बल्झिदै गएर अल्सर हुँदै क्यान्सरसमेत हुनसक्छ । त्यतिबेला खर्चको हिसावले पनि धेरै लाग्नुका साथै रोग निको हुने सम्भावना पनि न्यून हुन्छ । तर, यदि समयमै रोग पत्ता लगाएर उपचार गर्न सक्यो भने कम खर्चमा रोग निको हुने सम्भावना पनि धेरै रहन्छ । त्यसैले नियमित स्वास्थ्य जाँच नै ठूलो रोगको जोखिमबाट बच्ने उपचार पद्धति हो ।
पेटभित्र के भइरहेको छ भन्ने कुरा बाहिरबाट हेरेर थाहा हुँदैन । त्यसैले पहिलो कुरा त सबै मानिसले खानपान र बानी व्यहोरामा ध्यान दिनै पर्छ । जसमा ग्याष्टिकको समस्या देखिएको उहाँहरुले त अनिवार्य रुपमा खानामा सन्तुलन राख्नैपर्छ । स्वस्थ पेटका लागि प्रयाप्त पानी पिउन जरुरी छ । मोटोपना धेरै भयो भने पनि पेटमा एसिड बढ्छ । शारिरीक ब्यायाम पनि उतिकै जरुरी छ ।