महिलाले भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर : प्रधानमन्त्री ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महिलाले भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर : प्रधानमन्त्री ओली


२४ फाल्गुन २०७४, बिहिबार


Nepal Telecom

काठमाडौं । फागुन,प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाले सामाजिक वा कानुनी रुपबाट भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर रहेको बताएका छन् ।

अन्तराष्ट्रिय नारी दिवशको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सामाजिक पछौटेपन, अन्धविश्वास, कुरिती र त्यसबाट महिलाहरुले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले बिभिन्न प्रयास जारी राख्ने बताएका छन् । ‘यस्ता कुराहरुको अन्त्यका लागि सरकारले शिक्षा, सचेतना, कानुनी एवम् व्यवहारिक रुपमा प्रभावकारी कदम उठाउने विश्वास दिलाउन चाहन्छु’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् ।

सरकारका विभिन्न प्रयास हुँदाहुँदै पनि गुणस्तरीय शिक्षा, आधारभुत स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा महिलाको पहुँच अझै पनि न्यून भएको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ । प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन् ‘यस्तो अवस्थाको सुधारका लागि सबै सरोकारवाला निकायहरुले अझै प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक छ ।’

नीति निर्माण तहमा महिलाको संख्या बढाउन संवैधानिक रुपमा विशेष प्रवधान राखिएको प्रधानमन्त्री ओलीको भनाइ छ । राष्ट्रपति, उपराष्ट्रपति मध्ये एकजना महिला, सभामुख, उपसभामुख मध्ये एकजना महिला, राष्ट्रिय सभाको अध्यक्ष वा उपाधक्ष्य मध्ये एकजना महिला, प्रदेशको सभामुख, उपसभामुख मध्ये एकजना महिला र स्थानीय तहमा प्रमुख वा उपप्रमुख मध्ये एकजना महिला राख्ने प्रावधान महिला शसक्तिकरणका लागि महत्वपूर्ण फड्को भएको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ‘राष्ट्रपति जस्तो महत्वपूर्ण पदमा महिला रहेका विश्वका सिमित मुलुकहरुको सूचीमा नेपालले आफूलाई उभ्याउन सफल भएको छ ।’

नेपालको संघीय संसदमा ३३ प्रतिशत भन्दा बढी, प्रदेशसभामा ३४ प्रतिशतभन्दा बढी र स्थानीय तहमा ४० प्रतिशत भन्दा बढी महिला प्रतिनिधिहरु निर्वाचित हुनु विश्वकै लागि प्रेरणादायी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । महिला हक अधिकार प्राप्तीका लािग संविधान, विभिन्न अन्तराष्ट्रिय महासन्धीहरुमा नेपाल पक्ष राष्ट्र भएको स्मरण गराउदै प्रधानमन्त्री ओलीले ति सन्धी सम्झौताको पालनमा सरकार गम्भिर रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस