चोरी गरी अमेरिकामा पुर्याइएका मूर्ति नेपाल फिर्ता गरिँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चोरी गरी अमेरिकामा पुर्याइएका मूर्ति नेपाल फिर्ता गरिँदै


२२ फाल्गुन २०७४, मंगलबार


काठमाडौं । नेपालबाट उमा महेश्वर र भगवान बुद्धको पूर्णकदका मूर्ति न्यूयोर्कको मेट्रोपोलिटन कला संग्रहालयमा फेला परेका छन्। संग्राहलयले ती मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गर्ने घोषणा गरेको छ ।

मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गर्नका लागि मेट्रोपोलिटन कला संग्रहालयले एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त समझदारी पत्रमा न्युयोर्कस्थित कन्सुलर जनरल मधुकुमार मरासिनी र संग्रहालयका अध्यक्ष डेनियल एच विसबीच हस्ताक्षर भएको छ।

उक्त मुर्तिहरूमध्ये टंगालहिटी, पाटनमा रहेको उमा महेश्वरको मुर्ति बाह्रौंदेखि तेहौं शताब्दीमा बनेको विश्वास छ । अर्को भगवान बुद्धको उभिएका पूर्ण कदको मूर्ति यट्खाटोल काठमाडौंमा रहेको तथा एघारौदेखि बाह्रौं शताब्दीमा बनेको विश्वास गरिएको छ । दुवै मूर्तिहरु सन् ८० को दशकमा नेपालबाट चोरी भएको पाइएको छ ।

संग्रहालयले उक्त मूर्ति फिर्ता गर्न लागि सहयोग पुर्‍याएकोमा मरासिनीले धन्यवाद दिएका छन् । भन्सार तथा कार्गो सम्बन्धि सम्पूर्ण प्रकृयाहरू पुरा गराई सन् २०१८ अप्रिल भित्र नै उक्त मुर्तिहरू नेपाल फिर्ता गराइने विस्ले बताए ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस