काठमाडौं । राहुल पासवान (कक्षा–२) कापी र सिसाकलमसँगै बोरा पनि बोकेर चारकोसे झाडी छिर्छन् । उनले पढ्ने नेपाल दलित प्राथमिक विद्यालय चारकोसे झाडीभित्र छ । गोठजस्तो विद्यालयमा बस्ने बेन्च र चकटी तथा पुस्तक राख्ने डेस्क र टेबल केही छैन ।
विद्यालयमा न त लेख्नका लागि कालोपाटी र चक नै छ, न त पढाउने स्थायी शिक्षक । विद्यालय सहयोगी कार्यकर्ता लक्ष्मी चौधरीको भरमा चलेको छ विद्यालय । उनले कक्षा १ देखि चारसम्म पढ्ने ७० बालबालिकालाई एकै ठाउँ राखेर पढाउँछिन् । ‘यस्तो अवस्थामा के पढ्नु र के पढाउनु ? दिन काट्ने बाटो मात्रै भएको छ,’ चौधरीले भनिन् ।
जिल्ला शिक्षा कार्यालय बाराले ०६६ सालमा विद्यालय सञ्चालनका लागि अनुमति दिएको थियो । त्यतिबेला वन क्षेत्र अतिक्रमण गरेर बसेका सुकुम्बासीका बालबालिका पढाउन विद्यालय खोल्ने अनुमति दिएको शिक्षाका एक कर्मचारीले बताए । विद्यालय सहजनाथ साझेदारी वन क्षेत्रको चारकोशे झाडीमा खोलियो ।
सो स्थान हाल जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ मा पर्छ । त्यहाँ मठियानी टोलका ४५ बालिका र २५ बालक पढ्छन् । विद्यालय खोल्ने स्थानको सामान्य निरीक्षणसमेत नगरेर विद्यालय खोल्ने अनुमति दिँदा समस्या भएको जितपुरसिमरा–१७ का रुकेश प्रसादले बताए ।
उनका अनुसार बालबालिकालाई विद्यालय जान पनि सहज छैन । ‘पहिला विद्यालय टाढा थियो, अहिले नजिक छ, तर जंगलबीचमा हुँदा बालबालिका जान डराउँछन्,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।







