दुईबुँदे सहमति गर्दै फोरम सरकारमा जाने तयारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दुईबुँदे सहमति गर्दै फोरम सरकारमा जाने तयारी


१८ फाल्गुन २०७४, शुक्रबार


काठमाडौं । संघीय समाजवादी फोरम एमाले–माओवादीसँग दुईबुँदे राजनीतिक सहमति गरी सरकारमा जान तयार भएको छ । संविधान संशोधन गर्न सकिने विषय संयुक्त कार्यदलमार्फत गृहकार्य गर्दै जाने सहमति गर्दै फोरम सरकारमा सहभागी हुन तयार भएको हो ।

‘उहाँहरू दुईबुँदे सहमतिमार्फत सरकारमा सामेल हुन तयार हुनुभएको छ, सहमतिका लागि अन्तिम मस्यौदा पनि बनिसकेको छ,’ फोरमसँगको छलफलका लागि गठित कार्यदलमा एमालेतर्फका एक सदस्यले भने, ‘तर, शीर्ष तहमा मन्त्रालय बाँडफाँडसहित प्याकेजमा कुरा मिल्न बाँकी नै रहेकाले छलफल लम्बिँदै गएको हो ।’

दुईतिहाइ मत पुर्‍याउने गृहकार्यसहित एमाले र माओवादी केन्द्रले एक सातादेखि लगातार छलफल गर्दै आएका छन् । प्याकेजमै विषय नटुंगिएकाले सरकार–फोरम छलफल लम्बिँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले फोरमसँगको वार्ता नटुंगिएकाले मन्त्रिपरिषद्लाई पूर्णता दिन कम्तीमा आइतबारसम्म कुर्नुपर्ने बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस