नारायणगढ मुग्लिन सडकमा क्यान्टी लिभर नराखिने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नारायणगढ मुग्लिन सडकमा क्यान्टी लिभर नराखिने


१७ फाल्गुन २०७४, बिहिबार


चितवन । नारायणगढ मुग्लिन सडकखण्डको मुग्लिनतर्फको साँघुरो भागमा क्यान्टी लिभर राखेर सडक फराकिलो बनाउने योजना असफल भएको छ ।

सो क्षेत्रमा सडक निकै साँघुरो भएको र अग्लो डाँडो काट्न कठिन भएपछि घरमा बार्दलीजस्तो बनाएर सडक चौडा बनाउने प्रविधि (क्यान्टी लिभर) राख्ने योजना प्रस्ताव गरिएको थियो ।

मुग्लिनबाट नारायणगढतर्फ ८०० मिटरदेखि एककिलोमिटर ३०० मिटरसम्मको ५०० मिटर लम्बाइको नौ ठाउँमा १२३ मिटर लम्बाइमा क्यान्टी लिभर राख्ने तयारी गरिएको थियो । ती ठाउँमा शुरुमा सडक पाँच दशमलव पाँचदेखि छ मिटरसम्म फराकिलो थियो । भित्तो काटेर हाल सात दशमलव पाँच मिटरसम्म फराकिलो भएको छ । सम्झौताअनुसार ती ठाउँमा सडक नौ मिटर फराकिलो बनाउनु पर्ने हुन्छ ।

ठेकेदार कम्पनी सुप्रिम रौताहा जेभिले क्यान्टी लिभर राख्न अस्वभाविक रुपमा थप रकम माग गरेपछि सो तयारी असफल भएको हो । सो क्षेत्रमा सडक चौडा गर्न परामर्शदाता कम्पनीले तीनवटा विकल्प दिएको नारायणगढ मुग्लिन सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनाल बताउछन् ।

पहिलो विकल्प क्यान्टी लिभर, दोस्रो विकल्प नियन्त्रित विस्फोट गराएर भित्तो काट्ने र तेस्रो विकल्प आठ मिटर सडक चौडा गर्ने रहेको थियो । ठेकेदार कम्पनीले तेस्रो विकल्प रोज्दै क्यान्टी लिभर राख्ने भए रु छ करोड थप रकम माग गरेको आयोजनाले जनाएको छ । त्यति ठूलो रकम मापदण्डअनुसार दिन नमिल्ने खनालले बताए ।

आयोजना सम्झौता गरिएअनुसार नौ मिटर फराकिलो बनाउनु पर्छ भन्ने पक्षमा रहेको छ भने विभागका उच्च कर्मचारीलाई प्रभावमा पारेर आठ मिटर मात्र सडक फराकिलो वनाउन ठेकेदार कम्पनी लागि परेको छ । सडक सम्झौता गरेअनुसार फराकिलो बनाउनु पर्ने अडान लिँदै आउनुभएका सो आयोजनाका प्रमुख इन्जिनियर चन्द्रनारायण यादव निवृत्त भएसँगै क्यान्टी लिभर राख्ने कुरा हराएको छ भने सडक आठ मिटर कायम गरेर काम सम्पन्न गर्ने तयारी गरिएको छ ।

सडक विभागका उपमहानिर्देशक सञ्जय श्रेष्ठ क्यान्टी लिभर राख्ने भनिएका ठाउँको सडकमुनि खोक्रो भएकाले क्यान्टी लिभर राख्न काट्दा बाटो भाँसिएर चार मिटरमा कायम हुनसक्ने खतरा रहेको बताउनुहुन्छ । नियन्त्रित विस्फोट गर्दा पनि १०० मिटर माथिबाट काट्दै आउनु पर्ने भएकाले समस्या उत्पन्न भएको उनको भनाइ छ । उनले आठ दशमलव दुई मिटरसम्म फराकिलो गर्नसक्ने भएकाले क्यान्टी लिभर र भित्तो काट्ने काम आवश्यक नभएको बताए ।

आयोजनाका प्राविधिक भने सडकको सो भागको ठेक्का रकम मात्र एक अर्ब ३० करोड भएकाले ठेकेदारलाई काम नै नगरी उन्मुक्ति दिन नहुने बताउँछन् । एक इञ्जिनियरले भने, ‘एउटा गाडी बिग्रँदा अरु दुई गाडी आवतजावत गर्नका लागि नौ मिटर चाहिन्छ । यो अडान लिने प्रमुख निवृत्त भएकाले विभागलाई प्रभावमा पारेर ठेकेदार कम्पनी उम्किन खोज्दै छ ।’

ठेकेदार कम्पनीका प्रबन्धक शिशिर कन्दङ्वाले सो सडकको ५० मिटर भागमा बाहेक अन्यत्र नौ मिटर फराकिलो हुने भएकाले क्यान्टी लिभर र नियन्त्रित विस्फोट गराएर सो ठाउँमा भित्तो काट्न नपर्ने बताए । सोही खण्डको चेपाङ डाँडामा भने नियन्त्रित विस्फोट गराएर भित्तो काट्नु पर्ने ठेकेदार कम्पनीले माग गर्दै आएको छ ।

आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खानल सो ठाउँमा ३०० मिटर लम्बाइमा भित्तो काट्नु पर्ने बताउछन् । त्यहाँ पहाड ४४ मिटर अग्लो रहेको छ । एक वर्ष अघिदेखि भित्तो काट्दै आएको भए पनि उपलब्धि हुन नसकेको उनको भनाइ छ । सो ठाउँमा पनि नियन्त्रित विस्फोट गराउने कुरामा आयोजना र विभाग सकारात्मक रहेको छ । उक्त सडकको आँपटारीबाट १६ किलोमिटर मुग्लिनतर्फसम्म ११ मिटर र त्यहाँबाट मुग्लिनसम्म नौ मिटर फराकिलो सडक बनाउने सम्झौता रहेको छ । सन् २०१५ को अप्रिलबाट दुई वर्षमा काम सक्ने गरी ठेक्का दिइएको सो सडकको काम हालसम्म ७६ दशमलव ५ प्रतिशत मात्र सम्पन्न भएको छ । रासस

प्रतिक्रिया दिनुहोस