सच्चा कम्युनिष्ट क्रान्तिकारी एकजुट हुनुपर्छ : महासचिव वैद्य « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सच्चा कम्युनिष्ट क्रान्तिकारी एकजुट हुनुपर्छ : महासचिव वैद्य


१६ फाल्गुन २०७४, बुधबार


काठमाडौं । नेकपा क्रान्तिकारीका महासचिव मोहन वैद्यले सच्चा कम्युनिष्ट क्रान्तिकारी एकजुट हुनुपर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्रबाट असन्तुष्ट भई पुनर्गठन भएको नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीको पहिलो राष्ट्रिय भेलालाई आज सम्बोधन गदै उनले दक्षिणपन्थी शक्तिका विरुद्ध सच्चा कम्युनिष्ट पार्टी एकजुट हुनुपर्ने बताए ।

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनका लागि एकजुट हुनुको विकल्प नभएको महासचिव वैद्यको भनाइ थियो । ‘पूँजीवादी क्रान्तिलाई पूरा गर्नका लागि कम्युनिष्ट घटक एक हुनुपर्दछ’ उनले भने, ‘त्यसका लागि हामी फेरि मेहनत गरेर कम्युनिष्ट आन्दोलन एकजुट गराउनतर्फ लाग्नु पर्दछ ।’

उनले अहिले ठूलो पार्टी बनेकोमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई घमण्ड नगर्न समेत अनुरोध गरे । ‘अहिले ठूलो भयौँ भनेर घमण्ड नगर्दा हुन्छ’ उनले भने, ‘हामी सानो झिल्का हौं । सानो झिल्का सल्किएपछि ठूलो रुप लिन्छ । अनि के के हुन्छ भन्ने थाहा हुन्छ ।’

कार्यक्रममा पुनर्गठित माओवादी केन्द्रका नेता लोकेन्द्र विष्ट मगरले माओवादी केन्द्र दक्षिणपन्थी अवसरवादका लागि लागेको कारणले पार्टीलाई पुनर्गठन गरेको बताए । उनले चाँडै नै सच्चा कम्युनिष्ट पार्टीलाई एक बनाउने अभियानमा आफूहरु लाग्ने बताए ।

पुनर्गठित क्रान्तिकारीका संयोजक आलोक रायमाझीले सबै क्रान्तिकारी शक्ति एकजुट हुनुको विकल्प नभएको बताए । भेलाबाट ४० सदस्यीय केन्द्रीय कमिटी गठन हुने छ । रासस

प्रतिक्रिया दिनुहोस