केन्द्रदेखि जिल्लासम्मः ६ हजार कार्यालय खारेज हुँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

केन्द्रदेखि जिल्लासम्मः ६ हजार कार्यालय खारेज हुँदै


१६ फाल्गुन २०७४, बुधबार


काठमाडौं । केन्द्रीकृत शासनअनुसार देशभर स्थापित ८ हजार ६ सय १ सरकारी कार्यालयमध्ये ६ हजारभन्दा धेरै कार्यालय खारेजीको प्रक्रिया थालिएको छ । सरकारले केन्द्रमा रहेका ३० मन्त्रालयलाई १७ मा झारेलगत्तै केन्द्र, क्षेत्र, अञ्चल र जिल्लामा रहेका ६ हजारभन्दा धेरै कार्यालय एकै पटक खारेजी प्रक्रिया थालिएको हो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयलगायत अन्य सरोकारवाला मन्त्रालयको समन्वयमा क्षेत्र, अञ्चल र जिल्लास्तरमा रहेका अधिकाशं सरकारी कार्यालय खारेजी र समायोजन प्रक्रिया तीव्र पारिएको जनाएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले केन्द्रमा मन्त्रालय मर्ज हुने क्रमसँगै क्षेत्र, अञ्चल र जिल्लाका सरकारी कार्यालय खारेजी प्रक्रिया तीव्र पारिएको जानकारी दिए ।‘अब ८ हजार कार्यालयमध्ये ६ हजारभन्दा धेरै खारेज हुनेछन् । त्यसको गृहकार्य भइरहेको छ’, उनले भने । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस