‘फोरमलाई सरकारमा सहभागी गराउन आज सहमति’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘फोरमलाई सरकारमा सहभागी गराउन आज सहमति’


१६ फाल्गुन २०७४, बुधबार


काठमाडौं । संविधान संशोधन सुनिश्चित गरेर संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन आज सहमति हुने एमाले नेता सुवास नेम्वाङले बताएका छन् । सोमबार सत्तारुढ दल र फोरमबीच भएको छलफल निष्कर्षउन्मुख रहेको र आज सामान्य छलफलपछि सहमतिपत्रमा हस्ताक्षर हुने नेम्वाङले बताए ।

‘फोरम सरकारमा जानेबारे छलफल निष्कर्षउन्मुख भएको छ । बुधबार करिब एक घन्टा छलफल भएर सहमति हुनेछ,’ नेम्वाङले भने, ‘संविधानको कुन–कुन विषय संशोधन गर्ने सहमति दुवै पक्षले मस्यौदा बनाएर बुधबार टुंग्याइनेछ ।’

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न एमाले विगतदेखि नै लचक रहेकाले फोरमसँग सहमतिनजिक पुग्न सहज भएको पनि उनले बताए । फोरमले कति र कुन मन्त्रालय पाउने टुंगो पनि आजै लाग्नेछ । प्रधानमन्त्री ओली र फोरम अध्यक्ष उपेन्द्र यादवले यो विषय टुंग्याउनेछन् ।

फोरम सरकारमा सहभागी हुने विषयमा मंगलबार एमाले नेता नेम्वाङ र फोरमका राजेन्द्र श्रेष्ठ तथा रामसहाय यादवबीच छलफल भएको थियो ।

आजै मन्त्रिपरिषद् विस्तार हुन सक्ने

सरकार र फोरमबीच सहमतिपत्रमा हस्ताक्षर भएपछि आजै प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने सम्भावना छ । फोरम दुई मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने मौखिक सहमति भइसकेको छ । आज लिखित सहमति भएसँगै तीनवटै पार्टीका बाँकी मन्त्रीलाई आजै शपथ खुवाउने योजनामा प्रधानमन्त्री छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस