बालविवाहको मारमा ग्रामीण भेगका महिला « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बालविवाहको मारमा ग्रामीण भेगका महिला


१४ फाल्गुन २०७४, सोमबार


बझाङ । सामा अक्षर चिनेकै छैन, नौ वर्षको उमेरमा कल्पना बोहोराको छिमेकी गाउँको १२ वर्षीया केटासँग मागि बिहे भएको थियो । १४ वर्षको उमेरमा त उनी आमा बनिसकेकी थिइन् ।

आफूले बिहे गर्न नमाने पनि बाबुआमाको बाध्यताले बिहे गरेको बताउने बुगल नगरपालिका–३ की कल्पना बोहोराका साथमा अहिले तीन नाबालक छोरी छन् ।

आफू छ महिनाको हुँदा आमा बिरामी भएको र उपचार गर्न पैसा नभएपछि छिमेकी गाउँको एक व्यक्तिबाट बाबुले रु १५ हजार लिएका थिए । आफूलाई ठूलो भएपछि बिहे गरिदिने शर्तमा बाबुले बिक्री गरेको हुँदा आफूले बालविवाहको मार खेप्नुपरेको उनले बताइन् ।

‘सानो छँदा केही थाहा भएन १४ वर्षको उमेरमा एकाएक पहिलो सन्तान जन्मियो त्यसपछि दोस्रो र अहिले १८ वर्षमा तेस्रो सन्तानकी आमा बनेकी छु’ कमलाले भनिन् । त्यतिमात्र होइन, छोरा नजन्माएको भन्दै परिवारबाट उनले विभिन्न दुःख, तनाव पनि सहनुपरेको छ ।

तेस्रो छोरी जन्मेको भोलिपल्ट श्रीमान् भारत गए परिवारले निकै दुःख दिने गरेको कल्पनाले बताइन् ।

उनले भनिन्, ‘‘न्याय खोज्न कहाँ जानुपर्छ थाहा छैन ।’ अहिले उनलाई घरबाट निकाला गरेको छ । माइतीको सहारामा बस्दै आएकी छु । परिवारका सबैले किनेर ल्याएको तेरो आमाको प्राण बचाएको भनेर जवाफ लगाउने कुटपिट गर्ने गरेका छन् ।

कल्पना एक नमूना पात्रमात्र हुन् उनी जस्तै अर्की अनिता बोहोरा पनि १२ वर्षको उमेरमा आफ्नो बिहे भएको थियो । १५ वर्षको उमेरमा छोरा जन्मेपछि एक वर्ष नपुग्दै श्रीमान्को घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएपछि अहिले निकै दुःख भोग्नुपरेको बताउँछिन् ।

उनी भन्छिन्, ‘उमेरले १९ वर्ष भएँ, सँगैका साथीसङ्गी विद्यालयमा पढ्दैछन् । म विधवा हुनुपरेको छ । कसरी जीवन काट्ने निकै पीडामा छु । परिवारसँगै गाउँलेले पनि पोइ टोकुवा भनेर हेला गर्ने गरेका छन् ।’

कक्षा ५ मा पढ्दै गर्दा चार वर्षअघि ६ कक्षामा पढ्ने गाउँकै केटासँग रमित बोहराले आफ्नो बिहे भएको बताइन् । मलाई त्यतिखेर बिहे गरेको हो भन्ने लागेको थिएन । रमाइलो गरे होला, स्कूल पढ्न पाउँछु होला जस्तै लागेको थियो । विस्तारै श्रीमानको घरमा पठाउने काम गरियो । अहिले पढ्ने मन हुँदाहुँदै पनि विद्यालय छोड्नु परेकामा उनको गुनासो छ ।

गाउँमा १६ वर्ष नपुग्दै सबैजसो छोरीको बिहे गरिदिने गरेको रमित बताउँछिन् । ‘‘दैनिक घाँस, दाउरा र चुलोचौकोमा हाम्रो जीवन चलेको छ । संसार के हो महिलाको अधिकार के हो हामीलाई थाहा छैन’ उनले भनिन् ।

चुनावको समयमा गाउँमा मत माग्न आएका नेता सबैलाई यहाँका महिलाले बालविवाह रोक्न पहल गरिदिन सामूहिक अनुरोध गरेका थिए । माघ र फागुनको १२ गतेसम्म १३ बालिकाको उमेर नपुग्दै बिहे भएको छ । सबैको पञ्चेबाजा बजाएर हो । राज्यको गाउँसम्म पहुँच पुगेको छैन । आफू सदरमुकाम चैनपुर एक्लै पुग्न सकिँदैन ।

राज्यले ‘बिहेवारी २० वर्ष पारि’ भन्ने नीति बनाएको छ । कानूनले बालविवाहलाई निषेध गरेको छ । महिला तथा बालबालिका कार्यालय बझाङका प्रमुख लिला घलेले भनिन्, ‘हामीले सदरमुकाम वरपरका गाउँमा बालविवाह पूर्णरुपमा रोक्न लगाएका छौँ ।’

विकटका गाउँमा बालविवाहसँगै जारी प्रथा, धन प्रथा जबर्जस्ती विवाह गरिदिने प्रथा कायमै रहेको छ । यस्ता गलत प्रथालाई रोक्न अभिभावक, प्रशासन र स्थानीय राजनीतिक दलको सामूहिक प्रयासको खाँचो पर्दछ ।

प्रतिक्रिया दिनुहोस