अधिकारी हत्या प्रकरण : झन् लम्बियो मुद्दा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अधिकारी हत्या प्रकरण : झन् लम्बियो मुद्दा


१४ फाल्गुन २०७४, सोमबार


चितवन । चार वर्षदेखि जारी गोरखा, फुजेलका कृष्ण अधिकारीको हत्यासम्बन्धी मुद्दाको फैसला झन् पर धकेलिएको छ । दुवै पक्षको बहस टुंगिसकेको मुद्दामा जिल्ला अदालत चितवनले आइतबार जाहेरीकर्ता झिकाउन आदेश दिएको छ ।

०६१ जेठ २४ मा चितवन, रत्ननगरमा अधिकारीको हत्या भएको थियो । तत्कालीन विद्रोही नेकपा माओवादीले घटना जिम्मा लिएको थियो ।

‘जिल्ला न्यायाधीश कुलप्रसाद शर्माले जाहेरीकर्ता नूरप्रसाद अधिकारीलाई झिकाएर बुझ्ने आदेश दिनुभएको छ,’ अदालतका सूचना अधिकारी केशवप्रसाद पौडेलले भने । २०७० चैत ३० मा दायरउक्त मुद्दाको आइतबार २० औं पेसी थियो । पक्ष–विपक्षका कानुन व्यवसायीको बहस लगभग डेढ वर्षअघि नै सकिएको छ ।

गत वर्ष असोज ११ मा बहस सकिएपछि तत्कालीन जिल्ला न्यायाधीश टेकनारायण कुँवरले फैसला सुनाउनु साटो लिखितबहस नोट पेस गर्न आदेश दिएका थिए । सोही वर्षको कात्तिक ५ गते लिखित बहस अदालतमा पेस भएको थियो ।

त्यसपछि तीनपटक पेसीमा चढे पनि कुँवरका पालामा सो मुद्दामा सुनुवाइ भएन । पेसीका दिन न्यायाधीश बिदा बसे । कुँवरको ठाउँमा आएका जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेको पालामा उक्त मुद्दा पाँच पटक पेसी चढ्यो । तर, कहिल्यै सुनुवाइ भएन । न्यौपाने पनि सरुवा भएपछि कुलप्रसाद शर्मा जिल्ला न्यायाधीश भएर आए । उनका पालामा आइतबारअघि पनि तीनपटक उक्त मुद्दाको पेसी तोकिएको थियो । तर, विविध कारणले सुनुवाइ हुनसकेन । आइतबार पनि मुद्दाका पक्ष जिल्ला सरकारी वकिल परमेश्वर पराजुलीले आफूले नभ्याउने भन्दै स्थगित गर्न निवेदन दिए । तर, निवेदकका पक्षबाट गएका कानुन व्यवसायीहरूले स्थगित नगर्न अपिल गरेका थिए । यसअघि प्रतिवादीका कानुन व्यवसायीले नभ्याउने भनेपछि कात्तिक १२ का लागि तय गरिएको पेसी स्थगित भएको थियो ।

सशस्त्र संघर्षका बेला भएको घटनाका विषयमा सत्यनिरुपण तथा मेलमिलाप आयोगबाट निर्णय लिनुपर्नेमा अदालतमा मुद्दा दायर गरिएको भन्दै माओवादीले विरोध गर्दै आएको छ । अधिकारीका बाबुआमा अनशन बसेपछि मात्र मुद्दा दायर भएको हो ।

हत्यालगत्तै बाबु नन्दप्रसाद र दाजु नूरप्रसादले चितवन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । तर, अनुसन्धान अघि बढाइएन । बाबु नन्दप्रसाद र आमा गंगामायाले काठमाडौंमा आमरण अनशन सुरु गरेपछि राष्ट्रिय मानव अधिकार आयोगको अनुरोधमा चितवन प्रहरीले ०७० साल साउनबाट अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीले अनुसन्धान गरे पनि मुद्दा दायर हुन सकेको थिएन । नन्दप्रसाद र गंगामायाको अनशन जारी नै रहेपछि ०७० चैत मसान्तमा मुद्दा दायर गरियो । अदालतले उक्त मुद्दामा जन्मकैद हुने अवस्था नरहेको भन्दै त्यति बेला पक्राउ परेकालाई पुर्पक्ष थुनामा नपठाई धरौटीमा छाडेको थियो । अदालतको प्रारम्भिक आदेशपछि बाबुआमाले फेरि अनशन सुरु गरेका थिए ।

अनशन बसेकै अवस्थामा नन्दप्रसादको ज्यान गएको छ । उनको हालसम्म पनि अन्तिम संस्कार भएको छैन । आइतबार मुद्दाको कारबाहीसुरु नभए आमा गंगामायाको अवस्था झनै जटिल हुने कानुन व्यवसायीले न्यायाधीशसामु जिकिर गरेका थिए । उनीहरूले मुद्दाका साक्षीलाई बुझ्न बाँकी नै रहेका कारण झिकाउने आदेश गर्न आग्रह गरेका थिए ।‘यो प्रक्रियामा गएपछि मुद्दाको अन्तिम किनारा लाग्न अझै केही थप समय लाग्नेछ,’ निवेदकका तर्फबाट बहस गर्दै आएका अधिवक्ता पुष्पराज पौडेलले भने ।

जाहेरीकर्ता नुरप्रसाद पछिल्लो समय सम्पर्कमै छैनन् । त्यसैले उनी उपस्थित नभए अरू प्रक्रिया पूरा गर्दा समय झनै लम्बिनेछ । उक्त मुद्दामा १३ जनाविरुद्ध अभियोगपत्र दर्ता भएको छ ।

सरकारी वकिलको कार्यालयले सबै जनाविरुद्ध जन्मकैद माग गरेको थियो । तर, अदालतले उक्त सजायका लागि प्रमाण नपुग्ने भन्दै कसैलाई धरौटीमा र केहीलाई साधारण तारेखमा छाडेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस