छिनभरको सनकले ४२ महिनामा २,१६४ को हत्या « प्रशासन
Logo १० जेष्ठ २०७९, मंगलबार
   

छिनभरको सनकले ४२ महिनामा २,१६४ को हत्या


१४ फाल्गुन २०७४, सोमबार


चक्कु प्रहार

क्षणिक आवेग नियन्त्रण गर्न नसक्दा सामान्य विवादमा पनि गम्भीर अपराध

१. प्युठान नगरपालिका–१ खैराकोटका २७ वर्षीय गिरबहादुर विकले २३ वर्षकी श्रीमती बागेश्वरीलाई कोदालाको पाताले टाउकोमा हाने । भुइँमा ढलेकी बागेश्वरी छटपटाउँदा पनि गिरबहादुरको रिस थामिएन, दोस्रो प्रहार गरे । घरायसी विवादमा श्रीमान्को रिसले बागेश्वरीको ठाउँको ठाउँ मृत्यु भयो ।

२. कन्चनपुरको कृष्णपुर नगरपालिका–४ का ४२ वर्षीय बिरु डगौरा र उनकी पत्नी ४० वर्षीया लाहुबीचको विवाद कुटपिटमा बदलियो । बिरुले पत्नीको टाउको समातेर घरको भित्तामा बजारे । टाउकाबाट रगत बग्दासमेत बिरुको रिस थामिएन । उनले लछार्दै फेरि भित्तामा ठोके । लाहुको घटनास्थलमै मृत्यु भयो ।

३. सुनसरीको धरान उपमहानगरपालिका–५ फोक्लिङ टापुका ५४ वर्षीय कुमार राई मानसिक रोगी थिए । उनले बाटामा हिँड्दै गरेकी ३६ वर्षीया मीरा विकलाई ढुंगाले हाने । घटना नियालिरहेका मीराका श्रीमान शंकर विक आवेगमा आए । उनले कुमारलाई समातेर कुटपिट गरे । उनीसँगै थिए २२ वर्षीय शम्भु भुजेल । कुटपिटमा भुजेल पनि मिसिए । दुई भाइको कुटाइले अचेत बनेका राईलाई उपचारका लागि धरानस्थित घोपा अस्पताल लगियो । उपचारकै क्रममा उनको मृत्यु भयो ।

यी प्रतिनिधि घटना क्षणिक आवेग नियन्त्रण गर्न नसक्दा भएका हुन् । देशमा साँढे तीन वर्षमा दुई हजार १६४ ले यस्तै आवेगका कारण अनाहकमा ज्यान गुमाएका छन् ।

नेपाल प्रहरीको यस तथ्यांकलाई विश्लेषण गर्दा प्रत्येक दिन दुईजनाको ज्यान यसैगरी जाने गरेको देखिन्छ ।

प्रहरी प्रवक्ता डिआइजी मनोज नेउपानेले क्षणिक आवेग नियन्त्रण नहुँदा हुने हत्या तुलनात्मक रूपमा बढेको बताए ।

उनले भने, ‘गत तीन वर्षमा दुई हजारभन्दा धेरैको हत्या भएको छ । यी घटना अधिकांश क्षणिक आवेगकै कारण भएका देखिन्छन् ।’

यस अवधिमा सबैभन्दा धेरै हत्या आर्थिक वर्ष ०७२७३ मा देशभर ६ सय २७ को हत्या भएको थियो । त्यसपछि ०७३/७४ मा धेरै ६ सय १६ को हत्या भयो ।

आर्थिक वर्ष ०७१–७२ मा भने ६ सय आठजनाको हत्या भएको थियो । चालू आर्थिक वर्षको ६ महिनामा तीन सय १३ जनाको हत्या भएको छ ।

‘संख्या हेर्दा हत्या धेरै नै भएको देखिन्छ । तर, तीन करोड जनसंख्या भएको देशमा यी घटना सामान्य हुन् ।’ नेउपानेले भने, ‘यी घटनामा कमजोर सुरक्षाका कारण नभई सामाजिक, आर्थिक, राजनीतिकजस्ता कारण छन् ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस