क्षणिक आवेग नियन्त्रण गर्न नसक्दा सामान्य विवादमा पनि गम्भीर अपराध
१. प्युठान नगरपालिका–१ खैराकोटका २७ वर्षीय गिरबहादुर विकले २३ वर्षकी श्रीमती बागेश्वरीलाई कोदालाको पाताले टाउकोमा हाने । भुइँमा ढलेकी बागेश्वरी छटपटाउँदा पनि गिरबहादुरको रिस थामिएन, दोस्रो प्रहार गरे । घरायसी विवादमा श्रीमान्को रिसले बागेश्वरीको ठाउँको ठाउँ मृत्यु भयो ।
२. कन्चनपुरको कृष्णपुर नगरपालिका–४ का ४२ वर्षीय बिरु डगौरा र उनकी पत्नी ४० वर्षीया लाहुबीचको विवाद कुटपिटमा बदलियो । बिरुले पत्नीको टाउको समातेर घरको भित्तामा बजारे । टाउकाबाट रगत बग्दासमेत बिरुको रिस थामिएन । उनले लछार्दै फेरि भित्तामा ठोके । लाहुको घटनास्थलमै मृत्यु भयो ।
३. सुनसरीको धरान उपमहानगरपालिका–५ फोक्लिङ टापुका ५४ वर्षीय कुमार राई मानसिक रोगी थिए । उनले बाटामा हिँड्दै गरेकी ३६ वर्षीया मीरा विकलाई ढुंगाले हाने । घटना नियालिरहेका मीराका श्रीमान शंकर विक आवेगमा आए । उनले कुमारलाई समातेर कुटपिट गरे । उनीसँगै थिए २२ वर्षीय शम्भु भुजेल । कुटपिटमा भुजेल पनि मिसिए । दुई भाइको कुटाइले अचेत बनेका राईलाई उपचारका लागि धरानस्थित घोपा अस्पताल लगियो । उपचारकै क्रममा उनको मृत्यु भयो ।
यी प्रतिनिधि घटना क्षणिक आवेग नियन्त्रण गर्न नसक्दा भएका हुन् । देशमा साँढे तीन वर्षमा दुई हजार १६४ ले यस्तै आवेगका कारण अनाहकमा ज्यान गुमाएका छन् ।
नेपाल प्रहरीको यस तथ्यांकलाई विश्लेषण गर्दा प्रत्येक दिन दुईजनाको ज्यान यसैगरी जाने गरेको देखिन्छ ।
प्रहरी प्रवक्ता डिआइजी मनोज नेउपानेले क्षणिक आवेग नियन्त्रण नहुँदा हुने हत्या तुलनात्मक रूपमा बढेको बताए ।
उनले भने, ‘गत तीन वर्षमा दुई हजारभन्दा धेरैको हत्या भएको छ । यी घटना अधिकांश क्षणिक आवेगकै कारण भएका देखिन्छन् ।’
यस अवधिमा सबैभन्दा धेरै हत्या आर्थिक वर्ष ०७२७३ मा देशभर ६ सय २७ को हत्या भएको थियो । त्यसपछि ०७३/७४ मा धेरै ६ सय १६ को हत्या भयो ।
आर्थिक वर्ष ०७१–७२ मा भने ६ सय आठजनाको हत्या भएको थियो । चालू आर्थिक वर्षको ६ महिनामा तीन सय १३ जनाको हत्या भएको छ ।
‘संख्या हेर्दा हत्या धेरै नै भएको देखिन्छ । तर, तीन करोड जनसंख्या भएको देशमा यी घटना सामान्य हुन् ।’ नेउपानेले भने, ‘यी घटनामा कमजोर सुरक्षाका कारण नभई सामाजिक, आर्थिक, राजनीतिकजस्ता कारण छन् ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।







