नर्भिकका डाक्टरको चरम लापरबाही : देब्रे गोडामा समस्या, दाहिनेको अप्रेसन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नर्भिकका डाक्टरको चरम लापरबाही : देब्रे गोडामा समस्या, दाहिनेको अप्रेसन


१३ फाल्गुन २०७४, आइतबार


चितवन । चितवन भरतपुरकी विन्दु पौडेल दाहिने गोडामा दुखाइ बढेपछि स्थानीय अस्पताल पुगिन् । चिकित्सकले एमआरआई गरे । घुँडाको लिगामेन्ट च्यातिएको रिपोर्ट आयो । तर, थप उपचारका लागि त्यहाँका डाक्टरले काठमाडौं रिफर गरिदिए ।

चितवनका चिकित्सकले भनेअनुसार उनी परिवारका सदस्यसहित थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुगिन् । चितवनकै एमआरआई रिपोर्ट हेरेका नर्भिकका चिकित्सकले अप्रेसन गर्नुपर्ने बताए । विन्दु अप्रेसनका लागि शुक्रबारै भर्ना भइन् ।

अर्थोपेडिक डा. प्रवीण नेपाल र डा. शैलेज रञ्जितकारको टोलीले अप्रेसन गर्ने तय भयो । बिरामीका आफन्त बाहिर बसे, डाक्टरद्वयले भित्र अप्रेसन थाले । केही घन्टापछि आफन्तलाई खबर आयो, अप्रेसन सफलतापूर्वक सकियो । थिएटरबाहिरको वातावरण उज्यालो बन्यो । तर, बिरामीलाई तत्काल भेट्न दिइएन ।

जब विन्दुलाई भेट्न आफन्तले अनुमति पाए, तब खुसीको पाइला लम्काए । तर, देब्रे गोडाको अप्रेसन गर्न ल्याएको बिरामीको दाहिने गोडा चिरेको देखेपछि आफन्त छाँगाबाट खसेझैँ भए ।

बिरामीका परिवारले तत्काल अस्पताल प्रशासनमा आपत्ति जनाए । तर, पीडितका कुरा प्रशासनले सुन्न चाहेन । ‘गलत अप्रेसन भएको जानकारी गराउँदा प्रशासनले स्विकारेन,’ विन्दुका श्रीमान् किशोर पौडेलले भने, ‘अप्रेसन गर्ने डा. नेपालले पनि गल्ती नभएको बताए ।’

पीडित र अस्पताल प्रशासनबीच लामै विवाद चल्यो । ‘अन्ततः डा. नेपालले गल्ती स्विकारे, प्रशासन पनि गल्यो,’ किशोरले भने । नर्भिकले गल्ती स्विकार्दै पीडित पक्षसँग लिखित रूपमै विभिन्न सहमति गरेको छ । डा. नेपालले गल्ती स्विकार्दै भनेका छन्, ‘अप्रेसनका वेला भ्रममा परेछु, देब्रे सोचेर अप्रेसन गरेको दाहिने पर्न गएछ, पछि मात्रै थाहा पाएँ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस