नाम कर्णाली, राजधानी वीरेन्द्रनगर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नाम कर्णाली, राजधानी वीरेन्द्रनगर


१३ फाल्गुन २०७४, आइतबार


सुर्खेत । प्रदेश ६ को शनिबार बसेको संसद् बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोकेको छ। प्रदेशसभाको शनिबार बसेको चौथो बैठकले नाम कर्णाली प्रदेश र स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई बनाउने निर्णय गरेको हो।

बैठकले प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव सर्वसम्मतिले र प्रदेश राजधानी वीरेन्द्रनगर बनाउने प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित गरेको हो। एमाले संसदीय दलका नेता यामलाल कँडेलले संसद्मा ‘प्रदेशको नाम कर्णाली राखियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मत पारित भयो। नामकरण प्रस्ताव मत विभाजनबाट पारित गरिएको हो।

प्रदेशसभाका ३९ जना सांसद (सभामुखबाहेक) मध्ये पक्षमा ३७ र विपक्षमा शून्य मत खसेको थियो। राजीनामा दिएका एमाले सांसद चन्द्रबहादुर शाही र बिरामी कांग्रेस सांसद झुवा विक बैठकमा उपस्थित थिएनन्। उपस्थित सबै सांसदले पक्षमा मतदान गरेपछि सभामुख राजबहादुर शाहीले प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव सर्वसम्मत पारित भएको घोषणा गरेका थिए।

प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई बनाउनुपर्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव दुईतिहाइभन्दा बढी मतबाट पारित भएसँगै कर्णाली प्रदेशको स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगर भएको हो। वीरेन्द्रनगर प्रदेश राजधानी बनाउने प्रस्तावका पक्षमा ३६ मत र विपक्षमा एक मात्र मत खसेको थियो।

राजधानीको प्रस्ताव पेस गर्दै सांसद शाहीले यो प्रदेशको राजधानीका लागि वीरेन्द्रनगरको विकल्प नभएको धारणा व्यक्त गरे। प्रस्तावमाथि एमाले सांसद गुलावजंग शाह र माओवादी सांसद गणेशप्रसाद सिंहले समर्थन जनाएका थिए। छलफलमा सांसदहरूले ऐतिहासिक महत्व बोकेको कर्णालीको पहिचान झल्कने गरी प्रदेशको नामकरण भएकोमा खुसी व्यक्त गरे।

उनीहरूले भौगोलिक सुगमता, प्रशासनिक सहजता, पूर्वाधारको उपलब्धता र पहुँचका हिसाबले वीरेन्द्रनगर नै राजधानीका लागि उपयुक्त भएको धारणा व्यक्त गरेका थिए। संसद् बैठक १५ गतेसम्मका लागि स्थगन भएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस